काठमाडौँ- एर्लिङ हालान्डले ह्याट्रिक गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार उल्भरह्याम्पटनमाथि ३–० को जित दर्ता गरेको छ। गत साता म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडसँग हारेको सिटीलाई जित लयमा फर्काउन हालान्डले ४०, ५० र ५४ औँ मिनेटमा गोल गरेका थिए।
उल्भरह्याम्पटनलाई पन्छाएपछि सिटीले जारी लिगमा हासिल गरेको जित संख्या १४ पुगेको छ। हालान्डको गोल संख्या भने २५ पुगेको छ। यही सिजन सिटीसँग आबद्ध भएका नर्वेजियन स्ट्राइकरले लिगमा तेस्रो पटक एकै खेलमा तीन गोल गरेका हुन्।
घरेलु मैदानमा इत्तिहादमा हासिल यो जितपछि सिटीको २० खेलबाट ४५ अंक भएको छ। जुन शीर्षस्थानको आर्सनलको भन्दा दुई अंकले कम हो। यद्यपि आर्सनलले आइतबार राति नै दोस्रो स्थानको सिटीसँग दूरी बढाउन सक्छ। किनभने आर्सनल आफ्नो १९ औँ खेलमा युनाइटेडसँग भिड्दैछ।
हाल चौथो स्थानमा रहेको युनाइटेड जितसहित तेस्रो स्थानमा उक्लिने दाउमा छ। युनाइटेड र तेस्रो स्थान ओगटेको न्युकासल युनाइटेडको ३९–३९ अंक छ। शनिबार राति क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएपछि न्युकासलले युनाइटेडसँगको दूरी बढाउने मौका गुमाएको हो।
प्रिमियर लिगमै भएको अर्को खेलमा लिड्स युनाइटेडले ब्रेन्फोर्डलाई गोलरहित बराबरीमा रोक्यो। यो बराबरीपछि लिड्सको १९ खेलबाट १८ अंक भएको छ। उ हाल १५ औँ स्थानमा छ। ३० अंकसहित ब्रेन्टफोर्ड आठौँ स्थानमा छ।
ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी अख्तियारको नियन्त्रणमा, ३ लाख घुस रकमसमेत भेटियो


