अमेरिकी दूतावासले सुरु गर्‍यो देशव्यापी प्रविधि ह्याकाथन

हिमाल प्रेस ५ माघ २०८२ १५:५३ | Monday, January 19, 2026
54
SHARES
अमेरिकी दूतावासले सुरु गर्‍यो देशव्यापी प्रविधि ह्याकाथन

काठमाडौँ- नेपालस्थित अमेरिकी दूतावासले आज (सोमबार) ‘कोड फर इम्प्याक्ट : अमेरिका-नेपाल प्रविधि नवप्रवर्तन ह्याकाथन’ को घोषणा गरेको छ। आद्यन्त अड्भाइजरी, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र आद्यन्त फन्ड म्यानेज्मन्टसँगको साझेदारीमा ह्याकाथनको घोषणा गरिएको हो।

यसमा नेपालका सातै प्रदेशबाट १७५ जनाभन्दा बढी युवा नवप्रवर्तकलाई सहभागिता गराउने दूतावासको भनाइ छ। ‘६ महिना लामो यस कार्यक्रमले विद्यार्थी, प्रारम्भरत पेसाकर्मी र उद्यमका आकांक्षीहरूलाई सफलताका लागि एक बृहत् माध्यम उपलब्ध गराउने छ। जसमा सघन प्रादेशिक ह्याकाथनहरू, व्यावहारिक मार्गदर्शन, बीज कोष र थप विकास एवं लगानीका मार्गहरूलगायत समावेश हुनेछन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘नेपालका नवप्रवर्तकहरूको आगामी पुस्ता असाधारण रूपमा सृजनशील र सक्षम छ,’ नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भने, ‘कोड फर इम्प्याक्ट कार्यक्रममार्फत काठमाडौँभन्दा धेरै टाढासम्म देशभरका युवाहरूलाई उन्नत प्रविधि उपकरण, मार्गदर्शन र अवसर प्रत्यक्ष रूपमा प्रदान गर्ने प्लेटफर्मलाई सहयोग गर्न पाएकोमा अमेरिकालाई गर्व छ। यो पहलले अमेरिका-नेपाल साझेदारीको मजबुतीका साथै नवप्रवर्तन, सीप विकास र हाम्रा दुई देशबिच व्यापारिक सम्बन्धहरूलाई गहिरो बनाउने आर्थिक वृद्धिलाई तीव्रता दिने हाम्रो साझा प्रतिबद्धता दर्साउँछ।’

यस ह्याकाथन शृङ्खला माघ ४-५ गते बुटवलबाट सुरु भएको छ। माघ ८-९ गते पोखरा, १२-१३ गते धनगढी र विराटनगरमा एकैसाथ कार्यक्रमहरू हुनेछन्। यो यात्रा माघ १६-१७ गते जनकपुर र १७-१८ गते सुर्खेत पुगी २२-२३ गते काठमाडौँमा समापन हुने  दूतावासको भनाइ छ।

ह्याकाथनका प्रतिस्पर्धीहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र डिजिटल व्यापारमा रहेका चुनौतीहरूलाई सम्बोधन गर्न नीतिपरक ‘एआई’, मानव-केन्द्रित डिजाइन र विश्वव्यापी प्रविधि प्लेटफर्महरूको प्रयोग गर्नेछन्। उनीहरूलाई अनुभवी संस्थापक, प्रविधि विज्ञ र ‘इकोसिस्टम’ नेतृत्वकर्ताहरूसहितको सञ्जालले मद्दत गर्ने दूतावासले जनाएको छ।

‘सिलिकन भ्यालीलगायतका सुदृढ प्रविधि ‘इकोसिस्टमहरू’ साझा ज्ञान र निरन्तरको परीक्षणका साथै साहसी एवं मेहनती प्रतिभालाई सफलताका लागि आवश्यक स्रोतसाधनसहित विश्वास गर्ने तत्परताको जगमाथि निर्मित हुन्छन्,’ सेक्युरिटीपालका संस्थापक, एक मार्गदर्शक र यस पहलका साझेदारसमेत रहेका पुकार हमालले भने, ‘नेपालमा त्यसता अवस्थाहरूको सृजना गर्नुका साथै नेपालको ‘सिलिकन पिक्स’ ब्रान्डिङ्जस्ता प्रयासमार्फत प्रविधिसँग सम्बन्धित हाम्रा क्षमताहरूको दृश्यता पनि बढाउँदै हामीले आफ्ना सोचहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी कम्पनीहरूमा परिणत गर्न सक्छौँ।’

प्रकाशित: ५ माघ २०८२ १५:५३ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast