निर्वाचन कार्यतालिका स्थगन गर्न देउवा कांग्रेसको माग

हिमाल प्रेस ४ माघ २०८२ १६:५८ | Sunday, January 18, 2026
86
SHARES
निर्वाचन कार्यतालिका स्थगन गर्न देउवा कांग्रेसको माग

काठमाडौँ– नेपाली कांग्रेसको देउवा समूहले माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन मिति स्थगन गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।

देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिमितिको निर्णयबमोजिम शुक्रबार निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेलगत्तै निर्वाचन कार्यक्रम स्थगनको माग गर्दै निवेदन दर्ता गराएको हो।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र पूर्वमहान्यायाधिवक्ता खम्बाबहादुर खाती र अधिवक्ता केशवराज जोशीले निर्वाचन आयोग पुगेर निर्वाचन कार्यक्रम स्थगनको निवेदन दर्ता गराएका छन्। ‘निर्वाचन आयोगको गत शुक्रबारको निर्णयले मुलुकको लोकतान्त्रिक र पुरानो पार्टीलाई निर्वाचनबाट वञ्चित गर्न खोजेको देखिएकाले सर्वोच्चमा रिट दर्ता गरिएको हो’, अधिवक्ता जोशीले भने।

रिट निवेदनमा रिट निवेदनको अन्तिम किनारा नलागेसम्म निर्वाचनमा सम्पूर्ण कार्यक्रम स्थगन गर्न माग गरेको छ।

‘नेपाली कांग्रेसको आधिकारिकता सम्वन्धी विवादको निरोपण नगरी पदाधिकारीको विवरण अध्यावधिक गरी पाऊँ भन्ने कथित निवेदनका आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ आकर्षित गर्नै नहुने कानुनी व्यवस्थाको प्रयोग गरी, पार्टीका दुवै पक्ष राखी छलफल नगराई, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३,४४,४५ र ४६ अनुसार गर्नुपर्नेमा सो नगरी एक पक्षलाई सुनवाईको मौका समेत नदिई माग २ गतेको यस आयोगको निर्णयले नेपाली कांग्रेसजस्तो पुरानो लोकतान्त्रिक पार्टीलाई दलिय रुपमा निर्वाचनमा जान वञ्चित गरेको देखिन आयो, तसर्थ यस आयोगको उक्त मितिको निर्णय उपर नेपाली कांग्रेस पार्टी निर्वाचन आयोगको निर्णय गैरसंवैधानिक, गैरकानुनी, प्रचलित ऐन कानुन र यसै आयोगले यसभन्दा अगाडि गरेका निर्णय र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर र सिद्धान्तसमेत विपरीत छ’, निवेदनमा उल्लेख छ, ‘त्यसउपर आइतबार सम्मानित सर्वोच्च अदालतमा उत्प्रेष्ण परमादेश समेत रिट निवेदन दर्ता गरी आगामी माघ ६ गतेको पेसीसमेत तोकी पाएको हुँदा उक्त मुद्दाका सम्बन्धमा न्याय निरोपण नभएसम्म आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मनोनयनलगायतका सम्पूर्ण निर्वाचन कार्यतालिका स्थगन गरी पाऊँ भनी निवेदन लिई उपस्थित भएको छु’, निर्वाचन आयोगमा दर्ता गरेको निवेदनमा भनिएको छ।

प्रकाशित: ४ माघ २०८२ १६:५८ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast