अमेरिकी दूतावासले क्रिएटर्स मेला गर्दै

हिमाल प्रेस २ माघ २०८२ १९:०५ | Friday, January 16, 2026
18
SHARES
अमेरिकी दूतावासले क्रिएटर्स मेला गर्दै

काठमाडौँ- नेपालस्थित अमेरिकी दूतावासले शनिबारदेखि ‘क्रिएटर्स मेला २०२६: भिजन टु भेन्चर’ सुरु गर्ने भएको छ। यस वर्षको संस्करण डिजिटल सामग्रीको सिर्जना र उद्यमसँग सम्बन्धित छ।

विभिन्न सहरमा गरिने यो कार्यक्रम चितवनमा माघ ३ गते, नेपालगन्जमा माघ १० गते र काठमाडौँमा दुई दिवसीय फिनालेका रूपमा माघ १६ र १७ गते हुने दूतावासले जनाएको छ।

मेलाले डिजिटल कथाकथन र व्यावसायिक उद्यमबीचको खाडल पुर्ने लक्ष्य राखिएको जनाइएको छ। प्रविधि, डिजिटल प्लेटफर्मबाट हुने आयआर्जन र डिजिटल व्यवसाय विकासमा रहेको अमेरिकी विज्ञतालाई समाहित गर्दै यस मेलाले डिजिटल सामग्रीका सर्जक ‘क्रिएटर्स’ लाई दीर्घकालीन पेसाकर्मका रूपमा विकसित गर्न मार्गचित्र प्रदान गर्ने दूतावासकाे भनाइ छ।

‘क्रिएटर्स मेला २०२६ ले नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ पार्ने अमेरिकी प्रतिबद्धता दर्साउँछ,’ नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भने, ‘नेपालभर ज्ञान, सीप र सञ्जालहरूलाई बढावा दिँदै हामी उद्यमशीलता र रोजगारी सिर्जनालाई टेवा पुर्‍याउँदै छौँ। हामी नेपाली क्रिएटर्सलाई स्थानीय प्रभावका लागि मात्र नभई अमेरिकी व्यावसायिक साझेदार तथा विश्वव्यापी बजारहरूमाझको सफलताका लागि तयार पार्दैछौँ, जसले अझ गहन आर्थिक सम्बन्धहरू र साझा समृद्धिलाई प्रोत्साहित गर्नेछ।’

मेलामा ५० भन्दा बढी क्रिएटर्स, औद्योगिक विशेषज्ञ र कलाकारहरूको विशिष्ट पङ्क्तिको उपस्थिति रहने दूतावासको भनाइ छ। दूतावासका अनुसार सहभागीहरूले सज्जन राज वैद्य, प्रियंका कार्की, आयुष्मान् जोशी, टु बी गेमर, लेक्स लिम्बू, नितेशजंग कुँवर, कविता नेपाली, याबेश थापा, सोनाम तोप्देन, श्रीशेष मानन्धर र नेपाल एट्थ वन्डर लगायत अन्य थुप्रै प्रभावशाली आवाजहरूका यात्राबाट सिक्ने र प्रस्तुतिको अनुभव लिने अद्वितीय अवसर पाउनेछन्।

काठमाडौँमा हुने कार्यक्रमको मुख्य आकर्षण ‘पिच टु सक्सेस’ हुनेछ, जसको केन्द्रमा उद्यमीहरूको आगामी पुस्ता रहनेछ। छनोटमा परेका क्रिएटर्सले आनन्द बगरिया (निम्बस), क्याबिनेट श्रेष्ठ (अग्नि समूह) र विशाखा खड्का कुँवर (एनसेल) लगायतका नेपालका शीर्ष कर्पोरेट नेतृत्वकर्ताहरूको प्यानलसमक्ष आफ्ना व्यावसायिक उद्यमबारे प्रत्यक्ष रूपमा बताउने र तत्क्षण प्रतिक्रिया तथा उच्चस्तरीय मार्गदर्शन प्राप्त गर्ने दूतावासले जनाएको छ।

दूतावासका अनुसार अग्रिम दर्ता गर्न सकिने र सहभागिता निःशुल्क रहेको छ। दर्तासम्बन्धी विवरणका लागि यहाँ क्लिक गर्नुहोस्।

प्रकाशित: २ माघ २०८२ १९:०५ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast