कांग्रेस कमजोर पार्न राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्रका तानाबाना बुनिए : डा.कोइराला

हिमाल प्रेस १ माघ २०८२ १४:०६
26
SHARES
कांग्रेस कमजोर पार्न राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्रका तानाबाना बुनिए : डा.कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास सफल हुन नसकेको बताउँदै त्यसको दोष खोजेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न नहुने बताएका छन्।

बिहीबार जारी विज्ञप्तिमा उनले कांग्रेस एक भएर अघि बढ्न नसक्नुमा सबै पक्ष कतै न कतै चुकेको स्वीकार गर्दै यसबीच घटेका घटनाहरूको वस्तुपरक समीक्षा र व्यक्तिको भूमिकाबारे मूल्यांकन गर्ने जिम्मेवारी इतिहासलाई सुम्पिएको उल्लेख गरेका छन्।

डा.कोइरालाले कांग्रेस कमजोर पार्न राजधानी केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका षड्यन्त्रका तानाबाना बुनिएको दाबी गर्दै त्यसलाई रोक्न नसकिएको स्वीकार गरेका छन्। दृश्यमा देखिएका र नदेखिएका अनेक अन्तरविरोधका कारण पार्टी यो अवस्थासम्म आइपुगेको उनको भनाइ छ।

कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनुपर्छ भन्नेमा सबैको इमानदार प्रयास रहे पनि त्यसो हुन नसकेको उल्लेख गर्दै उनले यस कठिन घडीमा महामानव बीपी कोइरालाको स्मरण गर्नुपर्ने बताए। बीपीले नियतिमा विश्वास गर्ने गरेको स्मरण गर्दै कांग्रेस एकढिक्का हुन नसक्नुलाई पनि उनले नियतिको कठोर सत्यका रूपमा व्याख्या गरेका छन्।

डा.कोइरालाले अब आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहासको गौरव जोगाउने जिम्मेवारी सबैका सामु रहेको उल्लेख गरेका छन्। संगठनात्मक ऊर्जा प्रस्फुटन भएर मात्र इतिहास र अग्रज नेताहरूले दिएको जिम्मेवारी पूरा गर्न सकिने उनको भनाइ छ।

विज्ञप्तिमा उनले सम्पूर्ण कांग्रेस एकताको खाँचो अहिले अपरिहार्य भएको भन्दै कांग्रेस आम कार्यकर्ताले निर्माण गरेको पार्टी भएको, साझा इतिहास, साझा नेता र सहिदहरू नै प्रेरणाको स्रोत भएको उल्लेख गरेका छन्।

जनताले विगतमा पार्टी विभाजनका बाबजुद कांग्रेसप्रति गरेको भरोसा कायमै रहेको उल्लेख गर्दै उनले फेरि एकपटक अग्रज नेताहरूको मार्गदर्शन र शहीदहरूको बलिदान सम्झँदै जनताको घरदैलोमा पुगेर भोट माग्नुपर्ने बताएका छन्।

समय छोटो भए पनि सम्भव भएसम्म कांग्रेसको चुनावी अभियानमा आफैँ जनताको घरआँगनमा पुग्ने प्रयास गर्ने उनले जनाएका छन्। साथै पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया नरोकिने स्पष्ट पार्दै उनले सबैलाई कांग्रेसमा फर्कन आह्वान गरेका छन्।

‘यहाँ जित-हार कसैको छैन, सबैको विन विन अवस्थाबाट हामी अगाडि बढ्न सक्छौँ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १ माघ २०८२ १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast