काठमाडौँमा चुनाव जित्ने आधार पूर्णतातर्फ गयो : प्रचण्ड

हिमाल प्रेस ३० पुष २०८२ २१:०६ | Wednesday, January 14, 2026
28
SHARES
काठमाडौँमा चुनाव जित्ने आधार पूर्णतातर्फ गयो : प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको स्वार्थ देखाएर भएका एकताको कुनै महत्व नहुने बताएका छन्।

बुधबार काठमाडौँमा सुमन सायमीको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालको एकता पक्षधर समूहसँगको पार्टी समायोजन कार्यक्रममा प्रचण्डले निर्वाचनको स्वार्थ देखाएर पदका लागि विचार नमिल्नेसँग एकता गर्ने क्रम नेपालमा देखिएको भन्दै त्यस्ता एकताको कुनै महत्व नहुने बताएका हुन्।

उनले सुमन सायमी नेतृत्वको समूहसँग समायोजन भएसँगै अब काठमाडौँ उपत्यकामा नेकपाले चुनाव जित्ने आधार पूर्णतातर्फ गएको बताए। उनले अब ठूलाठूला सभाहरु भन्दा पनि जनताको घरमा गएर उनीहरुको गुनासो सुन्नुपर्ने धारणा राखे।

उनले पुराना गल्तीबाट सिकेर आत्मसमीक्षा र आत्मआलोचना गरी अब नयाँ ढंगले पार्टीलाई अगाडि बढाउन चाहेको उल्लेख गरे।

त्यस्तै नेकपाका सहसंयोजक माधव कुमार नेपालले आफूहरु विभिन्न समयमा सरकारमा रहँदा भएका राम्रा कामको प्रचार गर्दै कमीकमजोरीको समेत जिम्मा लिएर जनतामाझ जाने बताए। उनले पार्टी सामूहिकतामा विश्वास गर्ने भएकाले कसैले पनि पार्टीमा एक्लोपन महशुस गर्न नपर्ने धारणा राखे। नेपालले नेपाली जनताको आशा भरोसाको केन्द्रको रूपमा पार्टीलाई स्थापित गर्न एकताबद्ध भएर लाग्नुपर्ने उल्लेख गरे।

नेकपामा प्रवेश गरेका नेता सुमन सायमीले केही पुराना तथा नयाँ पात्रहरूको घमण्ड र आत्ममुण्डताका कारण नेकपासँगको एकता गर्ने ठाँउमा आइपुगेको बताए। उनले सडकबाट मात्रै नभइ सदनबाट पनि जनताका समस्या तथा माग मुद्दाहरुलाई सम्बोधन गर्न दवाव दिइने बताए।

सायमीले क्षणिक स्टन्टबाजीमा नझुक्कीन कार्यकर्तालाई आग्रह गर्दै कहिलेकाहीँ नयाँ आउने कुरा पुराना भन्दा झनै खतरनाक पनि हुन सक्ने र भिड सधैँ सही नहुने तर्क गरे।

प्रकाशित: ३० पुष २०८२ २१:०६ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast