कुलमान साथमा नरहेपछि बालेनले कसरी हेर्लान् ‘नेपाल हाँसेको?’

हिमाल प्रेस २७ पुष २०८२ १७:२५ | Sunday, January 11, 2026
38
SHARES
कुलमान साथमा नरहेपछि बालेनले कसरी हेर्लान् ‘नेपाल हाँसेको?’

काठमाडौँ- पुस १४ गते काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फेसबुकमा लेखे, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु।’ त्यतिखेरका ऊर्जामन्त्री कुलमान घिसिङलाई रास्वपामा दोस्रो वरीयतासहित उपसभापति पद दिइने सहमति भएपछि बालेनले यस्तो स्टाटस लेखेका थिए।

सहमतिअनुसार काठमाडौँका मेयर बालेन्द्र शाहलाई साक्षी राखेर सभापति रवि लामिछानेपछि कुलमानलाई दोस्रो वरीयता दिइएको थियो। सहमतिको बुँदा नम्बर ४ मा उल्लेख छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापति कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने।’

बालेनले केही समयअघि ‘म हाँसेको हेर्न चाहन्छु’ नामक गीत युट्युबबाट रिलिज भएको थियो।

बालेनले कुलमानलाई पार्टीमा समाहित गराउन आफूलाई जेनजी अभियन्ता भन्ने सुदन गुरुङको निकै प्रशंसासमेत गरेका थिए। पार्टी एकताको उत्साहमा उनले सामाजिक सञ्जालमा नेपाल हाँसेको हेर्न चाहेको लेखेका थिए। यति मात्रै होइन बालेनले एकता प्रक्रियामा टुंगोमा पुर्‍याउन सक्रिय रहेको भन्दै गुरुङको प्रशंसा गरेका थिए। ‘बाबु सुधन गुरुङज्यूले, जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यू, ब्रदर’, बालेनले पुस १५ गते फेसबुकमा लेखेका थिए।

सहमति गरेको १२ दिनमै कुलमान पार्टीबाट बाहिरिएका छन्। अब उनी उज्यालो नेपाल पार्टीका अध्यक्ष घोषित भएका छन्।

दुई साताको बीचमा कुलमानले दुईवटा महत्त्वपूर्ण पद गुमाउनुपरेको छ। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइस भौतिक पूर्वाधार तथा यातायातस सहरी विकासको जिम्मेवारी गुमाए। सरकारका यी प्रभावशाली मन्त्रालयको नेतृत्व एकैपटक एउटै व्यक्तिले प्रायः पाउँदैनन्। यसैगरी रास्वपासँगको एकता भाँडिएको छ। कुलमान र बालेन एउटै दलमा रहेर अघि बढ्ने सहमति पनि अब इतिहास भएको छ।

बालेन र कुलमान दुवै स्थापित प्रणालीसँग लडेर नतिजा निकाल्न खोज्ने पात्रका रूपमा चिनिन्छन्। कुलमानमाथि लोडसेडिङ अन्त्य गरेर नेपाललाई उज्यालो दिएको जस छ। बालेनले काठमाडौँ महानगरपालिकामा सुशासन कायम गरेको भनेर प्रशंसा गरिन्छ। यी दुई पात्र एकजुट हुँदा थपिएको उत्साह अहिले त्यत्तिकै सेलाएको छ। कुलमान साथमा नरहेपछि बालेनले नेपाल हाँसेको कसरी हेर्लान्? त्योचाहिँ भविष्यले देखाउनेछ।

कुलमान अब आफ्नै पार्टीबाट जनतासमक्ष जाने भएका छन्। उनले शनिबार आयोजित पत्रकार सम्मेलन पार्टीले प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बताए।

प्रकाशित: २७ पुष २०८२ १७:२५ | Sunday, January 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast