लिभरपुलविरुद्ध चेल्सी : उपाधि समीकरणले बिर्सिएकाे भिडन्त

हिमाल प्रेस ७ माघ २०७९ १६:०० | Saturday, January 21, 2023
लिभरपुलविरुद्ध चेल्सी : उपाधि समीकरणले बिर्सिएकाे भिडन्त

काठमाडौँ- योर्गन क्लपले स्वीकार गरेका छन्, लिभरपुलमा परिवर्तन आवश्यक छ। परिवर्तनको संकेत पनि गरेका छन्। तर आफू परिवर्तनको हिस्सा नबन्ने उनले स्पष्ट पारेका छन्। परिवर्तनको अर्थ खेलाडी किनबेचसँग सम्बन्धित छ। के भनिँदैछ भने लिभरपुल यो जनवरीमा होइन, सिजनको अन्त्यमा खेलाडी किनबेचमा व्यस्त हुनेछ।

तर त्यो भन्दा अगाडि लिभरपुलसामू चुनौती छ, अहिलेको खराब लयलाई बिदा। खासमा प्रशिक्षक क्लप सबैभन्दा बढी दबाब महसुस गरिरहेका छन्। गएको सिजन झन्डैले तीन उपाधि जितेको लिभरपुल हाल इंग्लिस प्रिमियर लिगको नवौँ स्थानमा छ।

यो सिजन खस्किएको ठूलो टिमको सूचीमा लिभरपुल मात्र छैन। चेल्सी पनि छ। यी दुई टिम शनिबार साँझ आमनेसामने हुँदैछन्। एनफिल्डमा हुने खेलबाट जसरी हुन्छ तीन अंक बटुल्ने लक्ष्यमा दुवै टिम छन्। शीर्ष चारबाट १० अंकले पछि परेकाले पनि यो लक्ष्य अनिवार्य बनेको हो।

बराबर अंक बटुलेको भए पनि लिभरपुल र चेल्सीबीच प्रस्ट फरक छ। लिभरपुलमा क्लपको सफलताको चक्र अन्त्य भएको संशय व्यक्त भइरहँदा चेल्सीका प्रशिक्षक ग्राहम पोर्टर भने स्टामफोर्ड ब्रिजमा स्थापित हुन संघर्षरत छन्। अपेक्षा अनुरुपको प्रदर्शन गर्न नसकिरहे पनि चेल्सीले नयाँ खेलाडी खरिद गर्न भने छाडेको छैन।

प्रिमियर लिगमा लिभरपुलले पछिल्ला दुई खेलमा लगातार हार व्यहोेरेको छ। गत साता ब्राइटनसँग भोगेको अप्रत्याशित पराजय आफ्नो करियरकै सर्वाधिक खराब पराजय भएको क्लपको प्रतिक्रिया थियो। ब्राइटनको हारलाई उल्भरह्याम्पटनमाथिको जितले केही हदसम्म बिर्सायो। तर यसले क्लपलाई अन्योलमा पारिदिएको छ, टिम छनोटको विषयलाई लिएर।

एफए कपमा उल्भरह्याम्पटनलाई पराजित गर्दा लिभरपुलले स्टिफन बाजेटिक, हार्भी इलियोट र फाबियो कार्लभाल्हो जस्ता युवा खेलाडीलाई मौका दिएको थियो। यी तीन जोर्डन हेन्डरसन, थियागो अल्कन्ट्रा र फाबिन्होभन्दा आक्रामक देखिएका छन्।

फेरि यो अन्योल यस्ताबेला सिर्जना भएको छ जतिबेला क्लप आफू सिनियर खेलाडीप्रति आवश्यकताभन्दा ‘लोयल’ नरहेको प्रमाणित गर्ने प्रयास गरिरहेका छन्। केही दिनअघि उनले सिनियर खेलाडीको स्थानमा युवा खेलाडीलाई मौका दिन गाह्रो नभएको संकेत गरेका थिए।

उता चेल्सीका प्रशिक्षक ग्राहम पोर्टरलाई पनि पहिलो एघार छनोट गर्न सजिलो छैन। किनभने चेल्सीले लगातार खेलाडी भित्र्याइरहेको छ। चेल्सीले हालै युक्रेनी विंगर मिखाइलो मुड्रिकलाई अनुबन्ध गरेको छ। उसका लागि लन्डनको क्लबले आठ करोड ८० लाख पाउन्ड खर्च गर्‍यो। आर्सनललाई पछि पारेर मुड्रिकलाई आफ्नो बनाएसँगै चेल्सीको नयाँ व्यवस्थापनले खेलाडी सरुवा बजारमा गरेको खर्च ४० करोड पाउन्ड पुगेको छ।

चेल्सी प्रिमियर लिगकै सर्वाधिक खर्चालु क्लब बनिरहँदा लिभरपुल भने सुतिरहेको आरोप छ। नयाँ मिडफिल्डरहरूको आवश्यकता भए पनि क्लब व्यवस्थापनले त्यसतर्फ ध्यान नदिएको लिभरपुल समर्थकको आक्रोश छ। आक्रोश क्पलमाथि पनि लक्षित छ। किनभने उनी नयाँ खेलाडी खरिद मात्र लिभरपुलको समस्याको समाधान नभएको जिकिर गर्छन्।

उसो त क्लप हालको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताइरहेका छन्। ‘म लिभरपुलबाट कतै जाने पक्षमा छैन। कित मलाई क्लबले राजीनामा दे भन्नु पर्‍यो। होइन भने म यही रहन्छु,’ लिभरपुलसँग सन् २०२६ सम्मका लागि सम्झौता गरेका क्लपले भनेका छन्, ‘टिममा केही परिवर्तन भने अवश्य हुनेछन्। परिवर्तन तत्काल नभए पनि भविष्यमा गरिनेछ।’

उसो त लिभरपुलमा विश्वास छ, क्लपले दुई वर्षअघिझैँ टिमको प्रदर्शनमा सुधार ल्याउनेछन्। त्यसबेला लिभरपुल एनफिल्डमा लगातार ६ खेल हार्दै शीर्ष चार दौडबाट बाहिरिने अवस्थामा थियो। तर लिभरपुल शीर्ष चारभित्र त प¥यो नै, अर्को सिजन च्याम्पियन्स लिगको फाइनलमा पनि पुग्यो।

‘प्रशिक्षणमा निकै वर्ष बिताइसकेको छु। अहिलेको जस्तो अप्ठ्यारो अवस्था मैले विगतमा पनि सामना गरेको हो। अनुभवका आधारमा के भन्न सक्छु भने, जब नतिजा आफूले सोचेभन्दा विपरीतको आउन थाल्छ तब खेलाडी र टिममाथि शंका उत्पन्न हुन्छ। यो स्वाभाविक हो,’ क्लपले भनेका छन्।

यो सिजन लिभरपुल अप्ठ्यारोमा पर्नुको एक कारण खेलाडी बारम्बार घाइते हुनु पनि हो। भर्जिल भान डाइक, डिएगो जोटा, लुइस डियाज, रोबर्टो फरमिन्हो र डार्विन नुनेज जस्ता खेलाडी मैदानबाहिर छन्। तर क्लपका लागि खेलाडीको चोटलाई बहाना बनाउने विकल्प छैन। किनभने फिट रहेका खेलाडीको उपयोग गर्दै लिभरपुललाई शीर्ष चारमा पुर्‍याउने जिम्मेवारी उनको हो।

प्रकाशित: ७ माघ २०७९ १६:०० | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast