काठमाडौँ- सर्लाहीका १२ वटा स्थानीय तहले विद्यालय कर्मचारीलाई सरकारले तोकेको तलब भत्ता उपलब्ध नगराएको गुनासो आएको छ। नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति सर्लाहीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनकोको ध्यानाकर्षण गराउँदै न्यूनतम तलब भत्ता उपलब्ध गराउन स्थानीय तहलाई परिपत्र गर्न माग गरेको हो।
परिषद्ले शिक्षामन्त्री पुनलाई बुझाएको पत्रमा सर्लाहीका विभिन्न नगरपालिका र गाउँपालिकाले विद्यालय कर्मचारीलाई थप तलब भत्ता भुक्तानी नगरेको उल्लेख गरिएको छ।
परिषद्का अनुसार मलंगवा, ईश्वरपुर, बागमती, गोडैता, बलरा, हरिपुर, कविलासी नगरपालिका तथा विष्णु, बसबरिया, ब्रह्मपुरी, धनकौल र पर्सा गाउँपालिकामा कार्यरत विद्यालय कर्मचारीले तोकिएको थप तलब भत्ता पाउन सकेका छैनन्।
विद्यालय कर्मचारी परिषद् जिल्ला समिति सर्लाहीले स्थानीय तहबाट न्यूनतम तलब भत्ता सुनिश्चित गर्न मन्त्रालयस्तरबाट स्पष्ट निर्देशन र परिपत्र जारी गर्न आग्रह गरेको छ।
परिषद्का जिल्ला अध्यक्ष नारायणप्रसाद यादवले विद्यालयको दैनिक प्रशासनिक तथा प्राविधिक काममा खटिने कर्मचारीलाई राज्यले विभेद गर्न नहुने बताए।
यस विषयमा नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिलाई समेत बोधार्थ पठाइएको छ। मन्त्रालयले समयमै पहल नगरे आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने संकेत परिषद्ले गरेको छ।



