तस्बिरः कृष्णप्रसाद सिटौलाको फेसबुक।
काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १५औँ महाधिवेशनमा सभापति पदको उम्मेदवारबारे अहिले छलफल गर्ने समय नभएको बताएका छन्।
आज पत्रकारहरूसँग कुराकानी गर्दै सिटौलाले आमनिर्वाचनपछि मात्रै महाधिवेशन र सभापति उम्मेदवारबारे चर्चा हुने बताए। उनले भने,‘कसलाई उम्मेदवार बनाउने भन्ने कुरा सभापतिजीले हामीहरूसँग भन्नुभएको छैन। अहिले सभापति उम्मेदवार को भनेर छलफल गर्ने बेला नै भएको छैन।’
सिटौलाका अनुसार महाधिवेशन वैशाखमा तोकिएको छ र फागुनमा आमनिर्वाचन हुँदैछ। त्यसैले अहिले पार्टीलाई चुनाव र तयारीमा केन्द्रित हुनु जरुरी छ।
उनले आफू सभापति पदको उम्मेदवार हुन् वा होइन भन्ने कुरा पनि महाधिवेशनकै समयमा थाहा हुने बताए।
त्यसैगरी, सिटौलाले विशेष महाधिवेशन नहुने भन्दै कांग्रेस फुट्न नदिने पनि बताए। सिटौलाले हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौँ नआउन र चुनावको तयारीमा लाग्न आग्रह गरे।



