काठमाडौँ- फिलिपिन्सको अध्यागमन विभागले एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। विभागअन्तर्गतको ‘फ्यजिटिभ सर्च युनिट’ ले फिलिपिन्स प्रहरीको सहयोगमा बुलाकनको मालोलोस सहरबाट नेपाली नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ३३ वर्षीय प्रकाश पाठक रहेका छन्। उनलाई डिसेम्बर ३१ मा पक्राउ गरिएको फिलिपिन्सको अध्यागमन विभागले जनाएको छ।
विभागले जनाएअनुसार पाठकविरूद्ध काठमाडौँ जिल्ला अदालतले १ डिसेम्बर २०२५ मा ‘आपराधिक विश्वासघात’ सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो।
त्यस्तै डिसेम्बर १२ मा इन्टरपोलले उनीविरूद्ध जबरजस्ती असुली र आपराधिक षडयन्त्रको अभियोगमा ‘डिफ्युजन नोटिस’ समेत जारी गरेको थियो।
फिलिपिन्सको अध्यागमन विभागको अनुसन्धानबाट पाठक गम्भीर सुरक्षासम्बन्धी गतिविधिमा संलग्न रहेको खुलेको छ। उनले फरार कैदीहरूलाई आत्मसमर्पण नगर्न र उनीहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको विभागले जनाएको छ।
१८ अगस्त २०२५ मा फिलिपिन्स प्रवेश गरेको उनको १८ डिसेम्बरसम्म मात्र त्यहाँ बस्ने अनुमति थियो।




