काठमाडौँ- गोरखाको अजिरकोट गाउँपालिका-३ काफलडाँडामा रहेको जीवनज्योति माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधार तथा छात्रवास कार्यक्रमलाई व्यवस्थित बनाउन थालेको अभियानमा विभिन्न संघसंस्था, पूर्वविद्यार्थी तथा शुभेच्छुकहरूको सहयोग निरन्तर बढ्दै गएको छ।
विद्यालयमा हालै सुरु गरिएको छात्रवास कार्यक्रमलाई व्यवस्थापन गर्न एभरेस्ट लर्निङ एकेडेमीले रु. १ लाख आर्थिक सहयोग प्रदान गरेको छ। पूर्वविद्यार्थी दिलिप बि.क. ले रु. १० हजार सहयोग गरेका छन्।
त्यसैगरी, पोर्चुगलमा रहेका पूर्वविद्यार्थी राजेश अधिकारी र उनकी पत्नी अनुष्का चौलागाईंमार्फत रु. ७ हजार ३ सय, विष्णुप्रसाद अधिकारीले रु. २५ हजार सहयोग प्रदान गरेका छन्।
विगत आठ वर्षदेखि विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक उन्नयनमा अग्रणी भूमिका खेलेको सिकोडर नेपालले छात्रवास कार्यक्रमलाई समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
जीवनज्योतिमा अध्ययन गरी एईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले अमेरिकामा रहेका केशव अधिकारीले लेखमाया स्मृति अक्षयकोष स्थापना गर्न रु.५० हजार सहयोग गरेका छन्।
यसैबीच विद्यालयको समग्र सुधारका विषयमा काठमाडौँमा सरोकारवालासहित छलफलसमेत सम्पन्न भएको छ। सहभागी संख्या अपेक्षाकृत कम भए पनि वडाध्यक्षसहितको उपस्थितिले विद्यालय सुधारमा सकारात्मक सन्देश गएको विद्यालयको भनाइ छ।
२०१३ सालदेखि शिक्षा प्रदान गर्दै आएको जीवनज्योति माध्यमिक विद्यालय न्यून आयस्रोत र सीमित साधनका कारण पछिल्ला वर्षहरूमा कमजोर नतिजा आउन थालेपछि पुनः शैक्षिक गन्तव्यका रूपमा स्थापित हुन प्रयासरत छ।
विद्यालयले छात्रवास कार्यक्रममार्फत कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई आवासीय रूपमा पठनपाठन गराउन थालेको छ।
विद्यालय परिवारले सहयोग गर्ने सबै संघसंस्था, दाताहरू तथा पूर्वविद्यार्थीप्रति आभार व्यक्त गर्दै सबैलाई पुनः एकपटक विद्यालय सुधार अभियानमा जुट्न आह्वान गरेको छ।
यो पनि



