फाइल तस्बिर
स्याङ्जा- आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार मतदाता कायम भएको छ।
२०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई दुई लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने भएका हुन्।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार पुरुष एक लाख २२ हजार ४६४, महिला एक लाख २६ हजार ३५१ र अन्य एक गरी कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका हुन्।
जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या धेरै रहेको छ। पुरुषभन्दा महिला मतदाता तीन हजार ८८७ जना धेरै रहेका छन्।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ३० हजार ८८६ मतदाता छन्। स्याङ्जा क्षेत्र नं २ मा एक लाख १७ हजार ९३० मतदाता छन्।
क्षेत्र नं १ मा गत निर्वाचनका तुलनामा यस वर्ष तीन हजार ४७५ मतदाता थप भएका छन्। क्षेत्र नं २ मा एक हजार २५२ मतदाता थपिएका कार्यालय प्रमुख थापाले जानकारी दिए। जिल्लामा २०७९ को निर्वाचनमाभन्दा यस वर्षको निर्वाचनमा कूल चार हजार ७२७ मतदाता थपिएका हुन्।
२०७९ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई लाख ४४ हजार ०८९ मतदाता रहेका थिए।
स्याङ्जा जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १९९ मतदानस्थल कायम गरिएको छ भने ३२२ मतदान केन्द्र रहने उनले जानकारी दिए।
गत निर्वाचनमा १९९ मतदानस्थल रहेको थियो भने मतदान केन्द्र ३२० कायम रहेकोमा यसपटक दुई मतदान केन्द्र थप भएका हुन्।



