निर्वाचन सफल बनाउन सरकार अहोरात्र खटिएको छ : प्रधानमन्त्री

हिमाल प्रेस १५ पुष २०८२ १६:०४ | Tuesday, December 30, 2025
16
SHARES
निर्वाचन सफल बनाउन सरकार अहोरात्र खटिएको छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको मुख्य आधार स्वच्छ, निष्पक्ष र उल्लासमय निर्वाचन भएको बताउँदै सरकार निर्वाचन सफल बनाउन पूर्ण रूपमा केन्द्रित रहेको बताएकी छन्।

तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्‌द्वारा मंगलबार टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियामार्फत निर्वाचन सम्पन्न गरी देशलाई राजनीतिक निकास दिने दिशामा सरकार अघि बढेको बताइन्।

उनले जतिसुकै मतभेद भए पनि आपसी संवाद, सहकार्य र सहमतिका आधारमा निर्वाचनमार्फत समस्या समाधान गर्न राजनीतिक दलहरू अग्रसर हुनुपर्नेमा जोड दिइन्। निर्वाचनकै माध्यमबाट युवाले चाहेजस्तो देश निर्माण सम्भव हुने उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस गरिसकेको बताउँदै यससँगै प्रतिनिधिसभा सदस्यको निर्वाचन सुनिश्चित भएको बताइन्।

आसन्न निर्वाचनका सन्दर्भमा जिम्मेवार राजनीतिक दल, युवा तथा सरोकारवाला सबै पक्षबाट प्राप्त सहयोगप्रति धन्यवाद दिँदै उनले सबैको सहकार्यमा निर्वाचन उत्साहपूर्ण र सफल हुने विश्वास व्यक्त गरिन्।

शान्ति र सुरक्षाको पूर्ण प्रत्याभूति गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा निर्वाचनमार्फत मुलुकलाई राजनीतिक निकास दिन सरकार अहोरात्र खटिरहेको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरिन्।

प्रकाशित: १५ पुष २०८२ १६:०४ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast