रौतहटमा एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

हिमाल प्रेस १४ पुष २०८२ ७:४६ | Monday, December 29, 2025
22
SHARES
रौतहटमा एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

रौतहट- आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट जिल्लामा तयारी तीव्र पारिएको छ। बढ्दो मतदाता सङ्ख्यालाई मध्यनजर गर्दै जिल्ला निर्वाचन कार्यालयले यसपटक मतदानस्थल र केन्द्रहरू थप गरेको छ। २०७९ सालको निर्वाचनको तुलनामा यस वर्ष मतदाताको चाप व्यवस्थापन गर्न १८ वटा मतदान केन्द्र र एउटा नयाँ मतदानस्थल थपिएका छन्।

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार २०७९ को चुनावमा ५ सय २३ वटा मतदान केन्द्र रहेकामा यसपटक १८ वटा थपेर ५ सय ४१ वटा पुर्‍याइएको छ। त्यसैगरी, मतदानस्थलको सङ्ख्या पनि २ सय ७६ बाट बढाएर २ सय ७७ कायम गरिएको छ। गरुडा नगरपालिका–६ मा नयाँ मतदानस्थल थपिएको कार्यालयले जानकारी दिएको छ। मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न सहज होस् भन्ने उद्देश्यले यी संरचनाहरू थप गरिएका हुन्।

रौतहटमा यस वर्ष मतदाताको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो निर्वाचनमा ४ लाख १५ हजार ४ सय ५५ मतदाता रहेकामा यसपटक २१ हजार १ सय ५६ जना नयाँ मतदाता थपिएका छन्। योसँगै जिल्लाभर कूल मतदाताको सङ्ख्या ४ लाख ३६ हजार ६ सय ११ पुगेको छ। १६ नगरपालिका र २ गाउँपालिका रहेको रौतहटमा कूल ४ वटा निर्वाचन क्षेत्र र १५७ वटा वडाहरू छन्।

यसअघि २०७९ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट माधवकुमार नेपाल, क्षेत्र नम्बर २ बाट किरण साह, क्षेत्र नम्बर ३ बाट प्रभु साह र क्षेत्र नम्बर ४ बाट देवप्रसाद तिमल्सिना निर्वाचित भएका थिए। सो निर्वाचनमा करिब ६८ प्रतिशत अर्थात् २ लाख ८२ हजार ४ सय ३० मतदाताले मतदान प्रक्रियामा भाग लिएका थिए। रासस

प्रकाशित: १४ पुष २०८२ ७:४६ | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast