बागमती प्रदेश आन्तरिक एवं विदेशी पदयात्रीहरूको आकर्षणको गन्तव्य, प्रकृतिप्रदत्त अमूल्य सम्पदा तथा धार्मिक आस्थाको स्थल हो। प्रदेशका रसुवा, नुवाकोट तथा सिन्धुपाल्चोक गरी तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज निकै प्रसिद्ध छ। त्यसै क्षेत्रमा रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा सूर्यकुण्डलगायत अन्य धेरै कुण्डहरू छन्। यी कुण्डमध्ये प्रतिनिधि अभिभावकका रूपमा रहेको गोसाइँकुण्डको यात्रा हामीजस्ता हिँडन्तेका लागि एक राम्रो गन्तव्य थियो।
गोसाइँकुण्डमा वार्षिक रुपमा हजारौँ श्रद्धालु तथा पदयात्रीहरू पुग्छन्। धार्मिक हिसाबले जनैपूर्णिमाका दिन ठूलो मेला लाग्छ। यसैगरी त्यहाँ गंगादशहरामा समेत उल्लेख्य मात्रामा तीर्थयात्रीहरू पुग्छन्। उक्त स्थलको पदयात्रालाई अविस्मरणीय बनाउन भाइबरमा जन्माइएको ‘हाइक फर हेल्थ’ नामक अनौपचारिक समूहमा आबद्ध आठजना हिँडन्तेहरू २०८२ सालको भाइटीकाको भोलिपल्ट बिहान १० बजे चाबहिलबाट साँखु-जहरसिंहपौवा, मेलम्ची हुँदै हेलम्बुको कुटुमसाङ पुग्न रिजर्भ गरिएको स्कर्पियोमा हुइँकिएका थियौँ।
मेलम्चीबाट कुटुमसाङतर्फ उकालो लाग्दा रूख, बुट्यान तथा झाडीहरूले सुसज्जित हरिया पहाडको सान्दर्य लोभलाग्दा देखिन्छन्। सोही पहाडको लेकदेखि बेसीसम्म फैलिएका भिराला गराहरूमा काट्ने बेला भएका पँहेलपुर धान देख्दा त्यस क्षेत्रका किसानको श्रम प्रशंसायोग्य लाग्छन्।
झलमल्ल लागिरहेको घाम, चलिरहेको सिरसिर बतास र सफा नीलो आकाशको सम्मिश्रणको मनमोहकता हामीजस्ता पहाड, भीर र जंगल चहार्दै हिँड्ने हिँडन्तेहरूलाई पर्याप्त थियो। उचाइ ग्रहण गर्दै जाँदा एक स्थानमा मोटरबाट ओर्लेर हिँड्न परेको थियो। त्यहाँ भेटिएको मनमोहक झरनाले यात्राको थालनीलाई सम्झनायोग्य बनाइदियो।
२,५०० मिटर उचाइमा रहेको कुटुमसाङ पुग्ने उकालोको ठाउँठाउँमा ढुंगा बिछ्याइएको छ। कतै ढलान गरिएको छ। कच्ची आवरणमा बनेको त्यो सडक ठाडो हुनु स्वभाविक थियो। उक्लिरहेको गाडीको चक्काले बाटोको अवस्थितिसँग पौँठेजोरी खेल्दै गुडेको छ। त्यसले सामना गरेको सास्तीले मनमा यस्तो पनि मोटरबाटो हो र भन्ने भाव उत्पन्न हुन्छ। यद्यपि त्यो अनुभूतिमा सकसको मात्रा धेरै थियो।
साँझ पर्ने लागेको प्रहरको घाम, अप्ठेरो घम्तीयुक्त बाटोका दायाँबायाँ उभिएर रहेका एकैनासका उत्तिसका रूख तथा बुट्यानहरूका चमक र चराचुरुंगीको आवाजले त्यस्ता सबै कष्ट भगाइदिन्छन्। फाट्टफुट्ट ओहोरदोहोर गरिरहेका मोटरसाइकल, केही मालवाहक साधनहरू र सकिनसकी ओर्लन प्रयास गरेको सानो कारको अवस्थाले हाम्रो देशको सडक अवस्थिति मात्रै होइन पहाडी सडकको दैनिकीलाई पनि देखाउँदो रहेछ। यस क्रममा करिब दूई घण्टाको अवधि टुप्पोमा पुगी आराम गर्ने हाम्रो उत्साहले स्मरणयोग्य बनायो। सुन्दरीजलबाट चिसापानी हुँदै करिब पाँच-छ घण्टामा पैदल पुग्न सकिने काठमाडौँ उपत्यका नजिकैको भ्रमणयोग्य सुन्दर ठाउँ हो कुटुमसाङ।

हामी पुगेको केही बेरमै प्रकृतिले सूर्यास्तको तरखर गर्दै थियो। यस्तो लाग्दै थियो- हामीलाई सूर्यास्तको सुन्दर पल आतिथ्यका रूपमा पस्किँदै छ, कुटुमसाङले। भोलिपल्ट बिहानको सूर्याेदय अर्काे आकर्षण रहेछ। उठ्नासाथ हामी सूर्य कुन बेला उदाउँछ भन्दै पूर्वतिर आँखा तेर्साएर बस्यौँ। नौ डाँडापारीे क्षितिजको एक विन्दुबाट माथि उठदै गरेको सूर्यलाई जीवन्त हेर्न थाल्यौँ।
साथै उत्तरबाट पूर्वतिर लहरै उभिएका गोन्जाला पिक, यालापिक, सिसांक्पांग्मा, लाक्पा दोर्जे, जुगल र गौरीशंकर हिमालका चुचुरामा उदाउँदो सूर्यको लाली पोतिँदै गर्दाको सुन्दरताको दृश्यपानले मनमस्तिष्क स्वच्छ भएको थियो। पश्चिमतर्फ होचो भूभागमा नुवाकोटको लिसंखुखोला, सूर्यकुण्ड आसपासबाट बगेर आएको पानीले बनाएको तादी खोला, दुप्चेश्वर तथा केही डाँडापारि देखिएको शिवपुरीको दृश्यले वरिपरि सबै चिनजानका आफन्त राखेर उभिएको कुटुमसाङमा खाने-बस्ने विश्रामगृहको राम्रो व्यवस्था रहेछ।
रात बिताएको विश्राम गृहमा बिहानको रोटीतरकारी र चिया खाई हिसाबकिताब गरी आठ बजे शुभारम्भ गरियो गोसाइँकुण्डतर्फको पैदलयात्रा। कुटुमसाङमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्जको चेक पोस्टमा आफ्नो विवरण दर्ता गरी रु. एक सय प्रतिव्यक्तिका दरले शुल्क बुझायौँ। अनि हामी मागेनगोठमा खाना खान पुग्ने गरी अगाडि बढ्यौँ।
नेपालको पुरानोमध्येको एक हेलम्बु हुँदै गोसाइँकुण्ड पुग्ने पदयात्रा मार्ग धेरै हदसम्म व्यवस्थित छ। मार्ग देखाउने संकेत ठडिएका खम्बा, ढुंगाका सिँढी, विश्रामस्थल, ढुंगाका ससाना चौतारीले पदयात्रा सहज बनाउँदो रहेछ।
त्यस्ता केही संरचना भने मर्मतसम्भारको पर्खाइमा रहेछन्। संरक्षण क्षेत्रको कार्यालयमा राखिएको सूचनापाटीले चितुवा, रेडपान्डा अर्थात हाब्रेको मुख्य वासस्थान रहेको जानकारी दिएकाले हामी जंगलका रुखपातहरूमा तथा झाडीमा लजालु हाब्रेको झलक अपेक्षा गर्दै लम्कियौँ।
करिब तीन घण्टाको हिँडाइपछि ११ः४५ बजे अलिक ठाडो सिँढीयुक्त मार्गको उकालोको मुखमै रहेको मागेनगोठकोे होटल ग्रिन भ्यु एन्ड लज नामक विश्रामगृहको आँगनमा पुग्यौँ। खाना खाने समय भएकाले तरकारीसहितको चाउचाउ खाई लगभग आधा घण्टा बिताइयो। थारेपाटीबाट झर्दै त्यहाँ आराम गरिरहेका विदेशी पदयात्रुको एक परिवार भेटियो। यात्रामार्ग कतै तेर्साे, कतै ठाडो, कतै ओरालो अनि उकालो हुने भएकाले हिँडाइको गति पनि त्यहीअनुसार तय हुने स्वाभाविक हो।
व्यक्तिको शारीरिक क्षमताअनुसार कोही लम्कन सक्ने, कोही सुस्तरी हिँड्ने, केही बेर हिँडेपछि उभिएरै वा केहीमा अडेस लागेर रोकिने आदि स्वाभाविक प्रक्रिया हुन्। करिब एक घण्टामा उक्लिएर पुगिएको दोबाटोमा रहेको पर्खालजस्तो चौतारीमा केही मिनेट विश्राम गर्यौँ। अगाडि बढ्दै जाँदा ढुंगाको सिँढीबाट बनेको ठाडो उकालो उक्लन थालेपछि भने विविध आकारप्रकारका ढुंगाहरूको अड्डाले स्वागत गर्यो। अगाडि भिरमा आकर्षक ढुंगे पहरा, ढोकाझैँ दुई तिर ठडिएका ढुंगाकै खाँबो, भकारीजस्ता ढुंगाका थुप्राहरूमा रमाउँदै तस्बिर खिच्न थाल्यौँ।
रंगीबिरंगी पातयुक्त बुट्यान, काँडैकाँडाका थुप्रा, कपासझैँ झुस भएका वनस्पति, चराका चिरबिरका बीच झोला बोक्दै तनावरहित लामोलामो सास लिँदै पसिनाले निथ्रुक्क भिजेर हिँड्दा शरीर स्वतन्त्र बनेको अनुभव भयो। साँच्चै हाम्रा आँखा, फोक्सो, दिमाग सबैले हामीलाई धन्यवाद दिइरहेको थियो।
करिब चार बजे थारेपाटी (ठाडेपाटी) को ओरालो भागमा रहेको विश्राम गृहमा पुगी त्यस दिनको यात्रा बिट मार्यौँ। खाना खाने हलमा तातोपानी मगाई आफूले बोकेका खानपानका मालबस्तु रित्याउने कर्म गर्यौँ। फलामे चुलोमा दाउरा कोचेर तातेको राप ताप्दै अनेक थरी कुरा गर्दा समय बितेको पत्तै भएन। बेलुकीको खाना खाई आठजना विभिन्न कोणमा रहेका कोठाहरूमा छरिएर चिसो खाटमा सिरकभित्र गुडुल्किँयौँ।
३,६०० मिटर उचाइमा रहेको थारेपाटीमा वरपर भुइँमा प्रकृतिले सेतो तुसारो छरेको थियो। बिहान उठी हातमुख धुनसमेत चिसोले हम्मेहम्मे पारेको थियो। हिँड्ने बाटोको दाहिनेतर्फ रहेको ठूला पहाड थियो। माथिल्लो भागमा बिहानको घाम लागेर आकर्षक देखिएको थियो। डा. उमेश खनाल त्यसतर्फ औँल्याउँदै ‘यसको फेदीफेदी हिँड्दै सातआठ वटा घुम्ती तेर्साे हिँड्नुपर्छ र अपर फेदी पुग्ने बेलामा ह्याराकह्याराक पार्ने उकालो आउँछ’ भन्दै हुनुहुन्थ्यो डा. उमेश खनाल। उहाँ २०७६ सालमा यही मार्ग भएर गोसाइँकुण्ड जानुभएको रहेछ। ‘सूर्यकुण्ड उक्लन पनि ठाडै उक्लनुपर्छ दाइ’ भन्दै हुनुहुन्थ्यो, डा. सुशील पौडेल। उहाँ पनि गोसाइँकुण्ड हुँदै सूर्यकुण्ड पुगिसक्नुभएको थियो। बाँकी हामी सबैको भने गोसाइँकुण्डको पहिलो यात्रा थियो।

बिहानको सवा सात बजेबाट ४५ मिनेटजति रुखपात तथा झाडीको बीचमा थोरै ओरालो अनि तेर्साे हिँड्यौँ। लामो घुमाउरो सिँढीयुक्त आकर्षक ओरालो भेटियो जुन अलिक ठाडै थियो। निगालोका झाडीमा कतै हाब्रे देखिन्छ कि भनी आँखा तन्कायौँ। दाहिनेतर्फको ठूलो पहाडबाट झरेको सानाठूला झरनाको पानीले बनाएको खोल्सा तर्न अस्थायी काठे साँघु थिए भने केहीमा छानो हालिएको काठका पक्की पुलले गर्दा पदयात्रा मार्ग सहज थियो। जंगलभित्र झरना र खोल्साले पानी बगाएर निकालेको एकोहोरो आवाज हाम्रो अन्तःस्करणमा सुमधुर धुन बनेर समाहित भइरहेको थियो। चार घण्टाको हिँडाइपछि घोप्टे नामक स्थानमा पुगेर आँतमा पलाएको भोकलाई रोटी, तरकारी र आफैँले बोकेर लगेको लप्सीको अचार खाएर साम्य पारियो। विश्रामगृहका सञ्चालकसँग फेदी र अपर फेदीका बारेमा चासो राख्याँै। बस्ने गृहहरू पाउन सकिने, फेदीमा एकभन्दा बढी तर अपर फेदीमा भने एकमात्र विश्रामगृह रहेको जानकारी भयो।
दाहिनेतर्फको ठूलो पहाडबाट आकर्षक झरना हुँदै बगेको खोलाको गडगडाहट श्रवण गर्दै काठको छाना भएको साँघु पार गर्दै फलामे बारले सुरक्षित बनाएको उकालो उक्लँदै दिनको करिब १ः३० बजे ३,७१० मिटरको उचाइमा रहेको फेदीमा पुग्यौँ। एक खोला पार गरी उक्लनासाथ एउटा विश्रामगृह भेटियो। आँगनको छेउमा २०४९ सालमा घ्याङफेदीको माथिल्लो भाग घोप्टेभीरमा दुर्घटनामा परेको थाई एयरलाइन्सको हवाईजहाजको केही फलामे अवशेष राखिएको रहेछ। उक्त दुर्घटनामा सयजनाभन्दा धेरैको ज्यान गएको थियो।
अपर फेदीमा पुग्न क्रमशः उचाइ ग्रहण गर्दै जानुपर्ने भएकाले हिँडदा केही कठिनाइ हुनु स्वाभाविक थियो। आठजनाको समूहका हामी कोही अगाडि, कोही बीचमा र कोही पछाडिको दुरी हुँदै वरपर उचाइमा पाइने ससाना काँडाजन्य वनस्पति, सिँढी, ढुंगाका थुप्रामा पथ पहिल्याउँदै अगाडि बढ्यौँ। बाटामा ओर्लिरहेका पदयात्रु भेटिएका थिए। ‘कहाँबाट आउँदै हुनुहुन्छ?’ ‘आज कता बस्नुहुन्छ? ‘कुन बाटो फर्किनुहुन्छ?’ जस्ता जिज्ञासा राख्दै गर्दा अधिकांशको उत्तर ‘गोसाइँकुण्डबाट फर्किएको’, ‘तालुगाउँमा गएर बस्ने’ लगायतका उत्तर थिए भने विदेशी पदयात्रुचाहिँ हामी आएकै बाटो हेलम्बुतर्फ जाने भेटिए।
त्यहाँबाट करिब तीनचार घण्टाको यात्रामा नुवाकोटकै तालुगाउँ पुगिने रहेछ। त्यहाँसम्म दुईपांग्रे सवारीसाधनमा आउन मिल्ने रहेछ। दुई घण्टा पन्ध्र मिनेट जतिको अवधिमा हामी फेदीबाट हाई क्याम्प (अपर फेदी) मा पुगेका थियौँ। झलमल्ल घाम लागिरहेकाले न्यानो भइरहेको थियो। बिस्तारै घाम डुब्न थालेपछि भने ३,६३० मिटर उचाइको त्यस स्थानमा रहेको एकमात्र विश्रामस्थलमा हामीले आरामदायक कोठामा सुत्न र मिठो खाना पायौँ। तर चिसोको मात्रा धेरै थियो। औसतमा आठ घण्टाको त्यस दिनको हिँडाइले शरीर थकित थियो। नजिकै बगिरहेको पानीको खोल्साबाट निकालिएको सानो क्षमताको बिजुलीले विश्रामगृहको कोठाहरू रातभर झलमल्ल हुँदा पनि पातलो निद्राले गाँजेकै थियो।

चौथो दिन अपर फेदीबाट बिहान ५ः१० को झिसमिसेमै टर्चलाइटको उज्यालोमा हिँड्न थाल्यौँ। यात्राले उचाइ चुम्दै जाँदा ७ः३० बजे करिब ४,६१० मिटर उचाइमा रहेको सूर्य पासमा पुर्यायो। सूर्याेदयपश्चात् क्रमशः वयस्क हुँदै गरेको वरिपरिको उज्यालो परिवेशमा पछाडि फर्किएर हेर्दा केही डाँडापारि देखिएको फेदी, ठाडेपाटी र कुटुमसाङको सेरोफेरोको दृश्यले थकान हराएर शरीर चंगा भएको अनुभव गराएको थियो। यस उचाइमा हिँड्दा लेक लाग्न सक्ने सम्भावना पनि रहन्छ। सौभाग्यवश! हामीमध्ये कसैलाई पनि कुनै समस्या भएन भलै उचाइमा उकालो उक्लँदा स्याँस्याँ र फ्याँफ्याँ हुन स्वाभाविक थियो।
नुवाकोटबाट रसुवा जिल्ला टेक्नासाथ भुइँदेखि लिएर वरिपरिका चुचुराहरूको अधिकांश भागलाई सेतो हिउँले ढाकेको थियो। बाक्लो गरी जमेको हिउँको पत्रबाटै केही पाइला अगाडि सार्नेबित्तिकै पूर्वबाट उत्तरतर्फ फैलिएर बसेको झण्डै गोलाकार आकारको सूर्यकुण्ड देखियो। पूर्वतिर रहेको पहाडलाई पूरै हिउँले ढाकेको थियो। दक्षिणतर्फको चुचुराको अधिकांश भागमा हिउँ छरिएको देखियो।
ती शिखरका प्रतिबिम्ब कुण्डको पानीमा सर्लक्कै तैरिरहेको सुन्दर एवं अनुपम दृश्यले मनमस्तिष्कलाई ताजा बनाएको थियो। सूर्यकुण्डवरिपरिका आमाकुण्ड, मोक्षकुण्ड, चन्द्रकुण्ड, रक्तकुण्ड, गणेशकुण्ड, कुमारकुण्डलगायतका धेरै कुण्डहरूले भरिपूर्ण उक्त स्थान वरपर घुम्दै करिब डेढ घण्टा बिताउँदा पनि अझै बसिरहुँ जस्तो भएरहेको थियो। केही तल ओर्लन थालेपछि पश्चिम उत्तरतर्फ क्षितिजमा नीलो आकाशलाई चुमेर हाँसिरहेको लाङटाङ शृंखलाको लहर क्यानभासमा पोतिएका रङको प्रतिबिम्बजस्तै देखियो।
केही बेर ओर्लिएपछि शान्त र स्थिर लगभग गोलाकार आकृतिमा उत्तरबाट दक्षिणतर्फ फैलिएको ४,३६० मिटर उचाइमा अवस्थित गोसाइँकुण्डको पूर्ण दृश्यले पुलकित बनायो। हिन्दु, बौद्ध, किराँतलगायतका धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु गोसाइँकुण्डको समीप पुग्दा बिहानको ९ः३० बजेको थियो। स्वच्छ पानीमा डुबुल्की मारेपछि शान्त भएको चञ्चल मन र हलुका भएको तनमा साँच्चै परमसन्तुष्टि दिलाएको थियो। चिसो पानी खान नसकिने, बाक्लो लुगा लगाउनुपर्ने त्यस क्षेत्रको सधैँको अवस्थामा त्यहाँ पुग्ने अधिकांश शरीर कुण्डको समीपमा पुगेपछि भने एकपटक डुबुल्की लगाउन सक्ने क्षणको कारक प्रकृतिको काखमा मौलाएको एक परम्पराको एक आख्यानझैँ अनुभव भयो।
त्रिशूलधारामा रहेको महादेवलगायत अन्य वरिपरिका देवीदेवताको दर्शनपछि लौरीबिनातिर ओर्लने बाटोको मुखमै रहेको विश्रामगृहको आँगनमा बसी रोटीतरकारी खाँदै कुण्डको भरपेट अवलोकनले गोसाइँकुण्ड अद्वितीय प्राकृतिक सुन्दरता तथा अध्यात्मको सम्श्रिणको थलो रहेको अनुभव भयो। करिब दुई घण्टा पुरै त्यहाँ बिताएर लौरीविनायकतर्फ ओरालो लाग्न थाल्दा दिनको करिब ११ः५० बजेको थियो।
गोसाइँकुण्ड गाउँपालिकामा पर्ने करिब २५ मिटर गहिराइ मानिएको नेपालको अमूल्य प्राकृतिक, धार्मिक एवं ऐतिहासिक सम्पदा जुन संरक्षणका क्षेत्रमा रामसार सूचीमा समेत सूचीकृत भई पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण थलोका रुपमा प्रख्यात हुँदै गइरहेको छ। यस सम्पदाको स्वच्छ, आकर्षक, दर्शनीय एवं सुविधाजनक रुपमा संरक्षणका लागि केन्द्रीय सरकार, स्थानीय पालिका, स्थानीय समुदाय तथा व्यवसायीहरू सचेत रही आपसी समन्वयमा कार्य गर्नुपर्ने अनुभव भयो।

गोसाइँकुण्डको पानी बगेर झरेको स्थानतर्फ अवस्थित भैरवकुण्डलाई ओर्लने क्रममा बाटोबाटै मनग्गे नियाल्न पाइयो। गोसाइँकुण्डमा उपलब्ध बिजुली बत्तीका कारण भविष्यमा तातोपानी, इन्टरनेट सुविधा, मोबाइल चार्ज गर्नेलगायतका सेवा सहज हुने देखिन्छ। त्यहाँ उपलब्ध इन्टरनेटमार्फत घरपरिवारसँग प्रत्यक्ष कुरा गर्दै कुण्डको दूरदर्शन गराएका थियौँ। भैरवकुण्ड हेर्दै हिँडेको केही बेरमा लौरीविनामा रहेको विनायकको मूर्तिसँग साक्षात्कार भइयो।
चन्दनबारी हुँदै लौरीविनाको उकालो उक्लनेहरूले चढाउने गरिएको भनिएको लौरीको चाहिँ टुक्रासमेत भेटिएन्। लौरीविनाको पास पनि भनिने उक्त स्थानको एकतर्फ चट्टाने भीर तथा अर्काेतर्फ गहिरोमा गोसाइँकुण्ड, भैरवकुण्डबाट बगेर आएको पानीद्वारा निर्मित नदीको खोँच रहेछ। मार्गको भीरतर्फको छेउमा फलामको बार लगाई यात्राको सुरक्षा पक्षलाई बलियो बनाइएको रहेछ। केही बेरमा लौरीविना उकालोको अर्काे आकर्षक स्थान आइपुग्यो।
१८० डिग्रीको सीधा रेखामा आँखाअगाडि लाङटाङ लिरुङ, गणेशदेखि लार्के र मनास्लु हिमालसम्मको लहरले मुस्कुराएर हामीलाई स्वागत गरेझैँ अनुभूति भयो। क्षितिजमा नीलो आकाश, सेतो हिमालका चुचुरा, हरियो पहाड, मुस्कुराइरहेको प्रकृति! कलात्मक बिम्ब। मनमा अनायास अंकुरित भावना। साँच्चै नेपाल प्रकृतिको एक अनुपम सम्पदाले भरिपूर्ण देश रहेकोमा कुनै दुविधा थिएन। कुनै चित्रकार वा कवि त्यस माहोलमा रहेमा कति उत्कृष्ट सिर्जनाको जन्म हुन्थ्यो होला, म कल्पनामा कावा खाँदै थिएँ।
भिरालो पहाडको सतहको तलपट्टि दाहिनेतर्फ चोलाङपाटीको गाउँ, सीधा अगाडि चन्दनबारी र ओर्लने मार्ग। लौरीविनाको त्यो उकालो उक्त पदयात्रामार्गको महत्त्वपूर्ण ठाउँ रहेछ। देब्रेतिरको भीरको माथि पट्टी हराएको साथी खोजेझैँ गरी यताउता छनकमनक गर्दै गरेको एक नाउर भेटियो। लगभग आधा घण्टा त्यस रमणीय स्थानमा बिताई तलतिर ओर्लन थाल्यौँ। ‘लौरीविना पनि पहिलाभन्दा धेरै फेरिए छ। सिमेन्ट लगाएर सिँढी बनाउन थालिएको रहेछ। मुख्य उकालोमा चाहिँ पुगेको रहेनछ साथै बाटो वरिपरि फोहोरहरू पनि देखिन थालेछ’ पचासको दशकमा यही बाटो उक्लिएर गोसाइँकुण्ड पुग्नुभएका डा.उमेश खनाल भन्दै हुनुहुन्थ्यो।
ठाउँठाउँमा रहेका स्थानीय तवरले निर्मित ढुंगाका छ्योर्तेन तथा गुराँसका बोटहरू झपक्कै भएको पदमार्ग आकर्षक भए पनि मर्मत गर्ने अवस्थामा पुगी अव्यवस्थित रुप देख्दा प्रसिद्ध पदयात्रा मार्गका बारेमा देशविदेशमा जाने सन्देश के होला भन्ने पनि लाग्यो। उल्लेख्य मात्रामा नेपाली युवकयुवती एवं केही विदेशीहरू स्याँस्याँ र फ्याँफ्याँ गर्दै उक्लिरहेको लौरीविनायकको त्यस भाग कठिन रहेछ। त्यस दिन चन्दनबारीमा बास बस्ने योजना हुँदाहुँदै पनि केही कारणवस खुट्टाले त्यहीँ विश्राम खोज्दाखोज्दै पनि मनले हामीलाई देउरालीतर्फ डोर्यायो।
अँध्यारो हुने तरखरमा रहेको साँझको पलमा जंगलको ओरालो बाटोमा कुन बेला देउराली आइपुग्छ भन्दै पाइला सारिरह्यौँ। बत्ती बालेर बाटो पछ्याउँदै झपक्कै अँध्यारो भएपछि देउराली पुग्यौँ। बिहान बत्ती बलेर पूर्वांग गरेको हिँडाइको सांगे पनि बत्ती बालेरै गर्ने अवसरको मज्जा लिन पाइयो। देउरालीको होटल भ्यु प्वाइन्टमा पुग्दा विश्रामगृहमा अन्य नेपाली युवकयुवतीको बाक्लो उपस्थिति थियो। कम्तीमा चन्दनबारीबाट हिँडदा एक साथीको सहयोगले होटलका कोठा पक्का नगरेको भए त बिचल्ली हुने रहेछ भन्ने लाग्यो।
उच्च पहाडी एवं हिमाली क्षेत्रको पदयात्रामा नेपाली युवा पुस्ताको बाक्लो उपस्थिति देख्दा आन्तरिक पर्यटक पदयात्रा उद्योगको एक बलियो कडीका रुपमा रहेको अनुभव गरियो। साथै युवा वर्गको आकर्षणले पदयात्रा क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्न आशावादी हुन सकिने देखियो। यात्राको मुख्य उद्देश्य हासिल भएपछि मिलेको सन्तुष्टि र थकानका बीच देउरालीको विश्राम गृहको खानपान र बसाइ सुविधाजनक थियो।
भोलिपल्ट बिहान उठ्दा मौसमविद्को भविष्यवाणी साकार भएको रहेछ। बाहिर त पानी परिरहेको। हामी चिया खाई रेनकोट भिरी सात बजे देउरालीबाट ओर्लन थाल्यौँ। रूखपात एवं झाडीयुक्त जंगल हुँदै आउनुपर्ने ओरालो बाटो र झमझम परेको पानीले चिप्लो बनाउँदा सुस्तरीसुस्तरी हिँड्नुपर्यो। दुई घण्टामा मिनी गोसाइँकुण्ड हुँदै घट्टेखोलामा पुगेपछि एक पसलमा ओत लागेर चिया खाँदै गाडीको प्रतीक्षामा रह्यौँ।
पानी परिरहेको अवस्थामा वाइपर बिग्रेको बिजुली गाडीमा धुन्चेबाट अगाडि बढेको यात्रामा वेत्रावती पुगेपछि खाना खान पाइयो। बिदुर पुगेर वाइपर बनाउने असफल प्रयास भयो। वाइपर मर्मत गर्न नसक्दा मिस्त्रीले सिसामा काँचो आलु दलेमा परेको पानी सजिलै बग्नेछ भनी सुझाए। त्यो उपाय कार्यान्वयन गर्दै गुर्जे भन्ज्याङबाट काठमाडौँ खाल्डो छिरेपछि भने पानी पर्न रोकियो। यात्राका क्रममा सादा खाना, खाजा, वास, तातोपानी, चिया, यातायात आदिमा गरी प्रतिव्यक्ति औसतमा १० हजार पाँच सय रुपैयाँ खर्च भएछ। यात्राबाट प्राप्त सन्तुष्टिको दाँजोमा त्यो खर्च सामान्य लाग्यो। मलगायत डा.उमेश खनाल, डा.गेहराज दाहाल, डा.प्रेम बसेल, डा.सुशील पौडेल, सुनिल पोखरेल, कालीप्रसाद रोयसारा र प्रज्वल बसेल घरबाट निस्किएको पाँचौँ दिन साँझ आरामपूर्वक घर भित्रियौँ।






