उम्मेदवार घोषणा नै नभई सिन्धुपाल्चोक कांग्रेसको चुनावी सभा

हिमाल प्रेस ११ पुष २०८२ १३:४८ | Friday, December 26, 2025
48
SHARES
उम्मेदवार घोषणा नै नभई सिन्धुपाल्चोक कांग्रेसको चुनावी सभा

काठमाडौँ- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार नै चयन नभई नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत भने चुनावी सभामा जुटेका छन्।

बस्नेत शुक्रबार सिन्धुपाल्चोक क्षेत्र नम्बर १ द्वारा बाह्रबिसेमा आयोजित चुनावी सभामा सहभागी भएका हुन्। सभामा जिल्लाका कांग्रेस नेताकार्यकर्ताको बाक्लो उपस्थिति छ। यसैगरी जिल्ला पार्टी समितिले सिफारिस गरेका उम्मेदवारहरू पनि चुनावी सभामा सहभागी भएका छन्।

कांग्रेस क्षेत्रीय समितिले क्षेत्र नं १ मा मोहनबहादुर बस्नेतको नाम एक सिफारिस गरेको छ। यद्यपि जिल्ला कमिटीले बस्नेतसँगै जिल्ला सभापति जंगबहादुर लामा र महेन्द्र लामाको नाम पनि सिफारिस गरेको छ। उनी क्षेत्र नम्बर २ का पूर्व सांसद हुन्।

कांग्रेस पुस २६ गतेदेखि २८ गतेसम्मका लागि तोकिएको १५ औँ महाधिवेशनका लागि जुटेको छ। यद्यपि तोकिएको मितिमा महाधिवेशन हुने वा नहुने टुंगो छैन। सोही कारण कांग्रेसले चुनावमा लड्ने उम्मेदवार छनोट गर्न सकेको छैन।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार माघ ६ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ। माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।

प्रतिनिधिसभातर्फ दुई क्षेत्र रहेको सिन्धुपाल्चोकमा २०७९ को चुनावमा क्षेत्र नम्बर १ मा तत्कालीन माओवादीका उम्मेदवार माधव सापकोटा र क्षेत्र २ बाट कांग्रेसका बस्नेत निर्वाचित भएका थिए। त्यतिबेला माओवादी र कांग्रेसबीच गठबन्धन थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast