टेरामक्स खरिद प्रकरणमा मोहन बस्नेतले पाए सफाइ

हिमाल प्रेस २२ असार २०८३ २०:१९ | Monday, July 6, 2026
4
SHARES
टेरामक्स खरिद प्रकरणमा मोहन बस्नेतले पाए सफाइ मोहनबहादुर बस्नेत। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले टेरामक्स खरिद प्रकरणमा सफाइ पाएका छन्।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुजक्त इजलासले टेरामक्स खरिदमा बस्नेतलाई सफाइ दिएको हो।

तत्कालीन सूचना तथा सञ्चारमन्त्री बस्नेत नीतिगत निर्देशन दिएपछिका कुनै पनि प्रक्रियामा संलग्न भएको नदेखिएको फैसलामा उल्लेख छ। साथै खरिद प्रक्रियाबाट बस्नेतले व्यक्तिगत लाभ लिएको वस्तुनिष्ठ आधार अभियोज पक्षले पेस गर्न नसकेको अदालतको ठहर छ।

‘साथै आरोप दाबीको खरिद प्रक्रियाबाट यी प्रतिवादीले व्यक्तिगत लाभ लिएको भन्ने वस्तुनिष्ठ आधार अभियोजन पक्षले पेस गर्न सकेको अवस्था पनि छैन। यस स्थितिमा प्रस्तुत मुद्दासँग सम्बन्धित खरिद प्रक्रियामा यी प्रतिवादी संलग्न रहेको मान्न मिल्ने अवस्था देखिँदैन। तसर्थ निज प्रतिवादी मोहनबहादुर बस्नेतले प्रस्तुत आरोपबाट सफाइ पाउने ठहर्छ,’ फैसलामा भनिएको छ।

विशेष अदालतले तत्कालीन मन्त्री बस्नेतलाई सफाइ दिए पनि प्रतिवादीहरू दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप््रेतीलाई दोषी ठहर गरेको छ। उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरीवाना हुने अदालतले ठहर गरेको छ।

विशेष अदालतले उनीहरूलाई बिगो कायम गर्न नमिल्ने भन्दै जरिवानामात्रै ठहर गरेको हो।

विशेषले प्रतिवादीमध्येका झा तत्कालीन अवस्थामा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पदमा बहाल रहेको अवस्था हुँदा उनलाई थप ६ महिना कैद सजाय सुनाएको छ।

टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सञ्चारमन्त्री बस्नेतसहित १८ जनामाथि ३ अर्ब २१ करोड मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रकाशित: २२ असार २०८३ २०:१९ | Monday, July 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast