काठमाडौँ- प्रहरीले नेपालमा क्यासिनो इभेन्ट गरी तासमा चिप र आँखामा विशेष प्रकारको लेन्स लगाई ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। .
जिल्ला प्रहरी परिसर, काठमाडौँले बुधबार पत्रकार सम्मेलन गर्दैै काठमाडौँको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोमा इभेन्ट नै आयोजना गरी तासमा चिप र आँखामा बिशेष प्रकारको लेन्स लगाई ठगी गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो।
पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, बिक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् भने क्यासिनो सञ्चालक, विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश भनिने व्यक्ति फरार रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
डिसेम्बर ११ देखि १४ तारेखसम्म भारत र नेपालका विभिन्न समूह मिलेर क्यासिनो इभेन्ट आयोजना गरेका थिए। महाकाय समूहका मुख्य व्यक्ति सुरेश महाजनले नक्कली खेलाडीको व्यवस्थापन गरेको र चिप जडीत ताज र विशेष प्रकारको लेन्सको जोहो गरेको भट्टराईले बताए।
ठगी गर्नैका लागि ५० प्याकेट म्याग्नेट जडीत तास र ४ सय लेन्स भारतबाट खरिद गरेर ल्याइएको पाइएको उनले जानकारी दिए। आँखामा विशेष प्रकारको लेन्स लगाएपछि तासको दुवैतर्फ देखिने र अन्य खेलाडीलाई ठगी गर्ने स्पष्ट नियत देखिएको उनको भनाइ छ।
ठगी गरेर जितेको रकमको ९० प्रतिशत इभेन्ट सञ्चालकले र बाँकी १० प्रतिशत खेलाडीले पाउने गरि ईभेन्ट सञ्चालक सुरेश माहाजन र दिनेश बर्माबीच सहमति भएको समेत अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका व्यक्तिका साथबाट प्रहरीले नेपाली र भारतीय रुपैयाँ, चिप जडीत तास, लेन्स, हवाई टिकटलगायतका सामग्री बरामद गरेको छ। वाल्डो क्यासिनोले समेत कानून उलंघन गरेको देखिएकाले पर्यटन विभागसँग समन्वय गरेर आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।




