तासमा चिप र आँखामा विशेष लेन्स लगाएर क्यासिनोमा ठगी

हिमाल प्रेस ९ पुष २०८२ १७:०९ | Wednesday, December 24, 2025
तासमा चिप र आँखामा विशेष लेन्स लगाएर क्यासिनोमा ठगी

काठमाडौँ- प्रहरीले नेपालमा क्यासिनो इभेन्ट गरी तासमा चिप र आँखामा विशेष प्रकारको लेन्स लगाई ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। .

जिल्ला प्रहरी परिसर, काठमाडौँले बुधबार पत्रकार सम्मेलन गर्दैै काठमाडौँको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोमा इभेन्ट नै आयोजना गरी तासमा चिप र आँखामा बिशेष प्रकारको लेन्स लगाई ठगी गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो।

पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, बिक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् भने क्यासिनो सञ्चालक, विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश भनिने व्यक्ति फरार रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

डिसेम्बर ११ देखि १४ तारेखसम्म भारत र नेपालका विभिन्न समूह मिलेर क्यासिनो इभेन्ट आयोजना गरेका थिए। महाकाय समूहका मुख्य व्यक्ति सुरेश महाजनले नक्कली खेलाडीको व्यवस्थापन गरेको र चिप जडीत ताज र विशेष प्रकारको लेन्सको जोहो गरेको भट्टराईले बताए।

ठगी गर्नैका लागि ५० प्याकेट म्याग्नेट जडीत तास र ४ सय लेन्स भारतबाट खरिद गरेर ल्याइएको पाइएको उनले जानकारी दिए। आँखामा विशेष प्रकारको लेन्स लगाएपछि तासको दुवैतर्फ देखिने र अन्य खेलाडीलाई ठगी गर्ने स्पष्ट नियत देखिएको उनको भनाइ छ।

ठगी गरेर जितेको रकमको ९० प्रतिशत इभेन्ट सञ्चालकले र बाँकी १० प्रतिशत खेलाडीले पाउने गरि ईभेन्ट सञ्चालक सुरेश माहाजन र दिनेश बर्माबीच सहमति भएको समेत अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका व्यक्तिका साथबाट प्रहरीले नेपाली र भारतीय रुपैयाँ, चिप जडीत तास, लेन्स, हवाई टिकटलगायतका सामग्री बरामद गरेको छ। वाल्डो क्यासिनोले समेत कानून उलंघन गरेको देखिएकाले पर्यटन विभागसँग समन्वय गरेर आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित: ९ पुष २०८२ १७:०९ | Wednesday, December 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast