जेनजीका नाममा ‘दुनो सोझ्याउने दाउ’, एजेन्डामा मतभेद

किरण पौडेल ९ पुष २०८२ २१:३५
22
SHARES
जेनजीका नाममा ‘दुनो सोझ्याउने दाउ’, एजेन्डामा मतभेद जेनजी अगुवाले सोमबार माइतीघरमा गरेको सरकार विरोधी प्रदर्शन। फाइल तस्बिर

काठमाडौँ- केही दिनदेखि काठमाडौँका सडकमा केही युवाले विभिन्न स्वरूपका आन्दोलन गरिरहेका छन्। माइतीघर आसपास केन्द्र बनाएर आन्दोलन गरिरहेका उनीहरूको माग छ, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसहितको राजीनामा।

आन्दोलनको अगाडि देखिएका छन्, रविकिरण हमाल, निकोलस भुसाल, मिराज ढुंगानालगायत। उनीहरू कहिले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग गर्छन् त कहिले फागनु २१ का लागि तोकिएको चुनाव हुनु हुँदैन भनेर नारा लगाउँछन्। उनीहरू आफूलाई जेनजी भनेर चिनाउँछन्। उनीहरू माइतीघरमा आमरण अनशनमा छन्।

आन्दोलनरत यी युवाप्रति जेनजी युवा भने सन्तुष्ट छैनन्। गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि मुलुकमा राजनीतिक परिदृश्य परिवर्तन भएको छ। जेनजी आन्दोलनको सफलतासँगै सुशीला कार्की नेतृत्वमा नागरिक सरकार बनेको छ। कार्की सरकारले ६ महिनाभित्रमा प्रतिनिधिसभा निर्वाचन गर्ने ‘म्यान्डेट’ पाएको छ।

सरकार–राजनीतिक दल असमझदारीले चुनाव हुने–नहुने अन्योल छ। यस्तो अवस्थामा जेनजीकै नाममा संघर्ष भइरहँदा झनै राजनीतिक अस्थिरता थपिने जानकारहरू बताउँछन्।

राजनीतिक दलका नेताहरू माइतीघरमा आन्दोलनरत युवाहरू वर्तमान व्यवस्थाकै विरुद्धमा रहेको दाबी गर्छन्। भुसाल हिन्दु राष्ट्रको वकालत गर्छन् भने हमाल राजावादी पार्टी राप्रपाका केन्द्रीय सदस्य हुन्। मिराजको एजेन्डा अन्योल छ। भदौ २३ मा भएको जेनजी आन्दोलनको अनुमति लिन जिल्ला प्रशासन कार्यालय पुगेका उनी आन्दोलनमा भने देखिएका थिएनन्। उनीहरूका यस्ता गतिविधिले जनमानस त्रसित छ भने जेनजी अगुवा असन्तुष्ट छन्।

‘आन्दोलन गर्ने उहाँहरूको अधिकार हो तर एजेन्डामा हाम्रो विमति छ,’ जेनजी अगुवा प्रदीप ज्ञवाली हिमाल प्रेससँग भन्छन्, ‘जेनजीको नाममा त्यस्ता एजेन्डा राख्नु आन्दोलनलाई बदनाम बनाउनु हो। व्यक्तिगत अभिलाषा बोकेर जेनजी भन्नु वा दुनो सोझ्याउन खोज्नु गलत हो।’

उनीहरू प्रधानमन्त्री–गृहमन्त्रीको राजीनामा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग राख्दै अनशन बसेका हुन्। ‘हामी चुनाव चाहिँदैन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिन्छ भन्दै हामी आन्दोलनमा गएका हौँ’, हमालले भने।

भुसाल विवादास्पद अभिव्यक्तिका कारण पक्राउ पर्दै आएका छन्। उनी केही समयअघि प्रधानमन्त्री र गृहमन्त्रीमाथि नै धावा बोलेको आरोपमा पक्राउ परेका थिए। मिराज भने प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालत गर्दै आएका छन्।

राजनीतिमा संलग्न भएपछि उनी आफैँ अन्योलमा छन्। उनले यसअघि पार्टी घोषणा गर्ने भन्दै राजधानीको तारे होटलमा कार्यक्रम राखे। तर पार्टीको नाम घोषणा गर्न सकेनन्। त्यसपछि एकाएक गुमनाम भएका मिराजले अघिल्लो साता राजधानीकै एक होटलमा पत्रकार सम्मेलन गरे। जेनजी आन्दोलनबाटै बनेको सरकारको राजीनामा मागेका कारण उनका बारेमा सन्देह फैलिएको नेताहरूको बुझाइ छ।

‘कसैको भावना वा असन्तुष्टिलाई अस्वीकार गर्नु भन्दा पनि संवाद र समझदारीमार्फत समाधान खोज्नु नै लोकतन्त्रको सुन्दरता हो। फरक दृष्टिकोण राख्ने साथीहरूलाई आलोचना गर्नेभन्दा पनि संविधान, कानुन र लोकतान्त्रिक प्रक्रियाको महत्त्वबारे खुलेर छलफल गर्नु आजको आवश्यकता हो’, जेनजी अगुवा एवं जनादेश पार्टीकी नेत्रृ जस्मिन ओझा भन्छिन्, ‘निर्वाचन हाम्रो संविधानले दिएको सबैभन्दा बलियो र वैधानिक माध्यम हो, जसले जनताको आवाजलाई शान्तिपूर्ण तरिकाले राज्यसत्तासम्म पुर्‍याउँछ। देशलाई स्थिरता, सुशासन र जवाफदेहिताको दिशामा लैजान निर्वाचनको विकल्प छैन भन्ने हाम्रो विश्वास हो। परिवर्तन चाहने हो भने पनि त्यो संविधानभित्र रहेर निर्वाचनमार्फत नै संस्थागत हुनुपर्छ।’

जेनजी आन्दोलनपछि सडकबाट माग राख्ने र धम्की दिने घटना बढेका छन्। भदौ २४ पछि युवाहरू जेनजीका नाममा आफ्ना माग लिएर धाकधम्की र कुटपिटमा संल्न हुन थालेका छन्। उनीहरूबाट कहिले हाइड्रोपावरमा सेयर माग्ने त कतै निःशुल्क टिकट माग्ने गतिविधि बढेका छन्। ‘आन्दोलनका नाममा व्यक्तिगत आकांक्षा राख्दा आन्दोलनकै औचित्य समाप्त हुन्छ,’ ज्ञवाली भन्छन्।

सडकमा मात्र होइन, जेनजीबीच एजेन्डा नमिल्दा समेत विवाद हुने गरेको छ। केही समयअघि मात्रै संवादका लागि प्रधानमन्त्री कार्यालय पुगेका जेनजीबीच भनाभन भएकोे थियो। ‘जेनजीका नाममा अराजकता मौलाएको छ। भदौ २४ मै यो हर्कत देखिएको थियो,’ राजनीतिक विश्लेषक विमल पोखरेल भन्छन्, ‘यसरी आगजनी गर्ने र अपराध गर्नेलाई कारबाही गर्नुपर्छ। यो आन्दोलन होइन, अराजकता हो।’

सडकदेखि सरकारसम्म जेनजी प्रतिनिधित्व छ। तर अशान्त छन् जेनजी। यसको मूल कारण हो, उनीहरूबीचका एजेन्डामा भिन्नता। रक्षा बमसहित केही जेनजी संविधानभन्दा पर गएर निकास खोज्न नहुने पक्षमा छन्।

आफूलाई जेनजी अभियन्ता बताउने सुदन गुरुङहरू भने गृहमन्त्रीको राजीनामा मागिरहेका छन्। मिराजहरू सुशासन नभए चुनाव हुन नदिने अडान राखिरहेका छन्। भुसालले भने प्रदेश खारेजीको एजेन्डा बोकेका छन्। ‘लोकतन्त्रमा फरक मत राख्न पाइन्छ तर आफ्नै एजेन्डा राख्नुपर्छ भन्नु गलत हो,’ ज्ञवाली भन्छन्।

प्रकाशित: ९ पुष २०८२ २१:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast