काठमाडौँ- भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको नक्कली फेसबुक पेज बनाएर विद्यार्थीलाई सहभागी हुन आह्वान गरेको पाइएको छ। राष्ट्रिय मानवअधिकार आयोगले गठन गरेको छानबिन समितिले प्रहरीको ‘फेक’ फेसबुक पेज बनाएर विद्यार्थीलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेको पाएको हो।
नेपाल प्रहरीको नक्कली फेसबुक पेजमार्फत विद्यार्थी पोसाकमा आए प्रहरीले बल प्रयोग नगर्ने भन्दै प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको पाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
‘नेपाल प्रहरीको नक्कली फेसबुक पेज बनाई सो पेजमार्फत जेनजी समूहलाई प्रदर्शनमा विद्यार्थी पोसाकमा आएमा नेपाल प्रहरीले बल प्रयोग गर्न नसक्ने हुनाले सबै जना विद्यालय पोसाकमा आउनु भनी आह्वान गरेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ।
नक्कली फेसबुक पेजमार्फत भ्रमपूर्ण सामग्री प्रसारित गरी जेनजी प्रदर्शनको क्रममा विद्यार्थीलाई योजनाबद्ध रूपमा ‘ढाल’ बनाउन खोजिएको छानबिनका क्रममा पाइएको आयोगले जनाएको छ। घटनापछि प्रदर्शनपूर्व प्रयोग गरिएका सामाजिक सञ्जाल खाता निष्क्रिय पारिएको प्रतिवेदनमा उल्लेख छ। ‘नेपाल प्रहरीको नक्कली फेसबुक पेजले प्रदर्शनकारीमा भ्रमपूर्ण सामग्री सामजिक सञ्जालमा प्रसारित गरी योजनाबद्ध रूपमा विद्यार्थीलाई प्रदर्शनमा सहभागी गराई मानव ढाल बनाउन खोजेको देखिएको र सो घटनापछि प्रदर्शनपूर्व प्रयोग भएका सामाजिक सञ्जाल खाताहरू निष्क्रिय बनाएको देखिएको भन्ने सुरक्षाकर्मीको बयान व्यहोराबाट खुल्न आई माथिको तथ्य स्थापित भएको पाइन्छ,’ प्रतिवेदनमा उल्लेख छ।
प्रदर्शनपूर्व सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सामग्रीहरू प्रसारित भइरहे पनि त्यस्ता फेसबुक पेजलाई निष्क्रिय पार्न वा भ्रम चिर्न सुरक्षा निकायबाट पहल नभएको आयोगको ठहर छ। प्रतिवेदनमा उल्लेख छ, ‘प्रदर्शनपूर्व सामाजिक सञ्जालमा त्यस्ता विषयहरू साझा भइसकेपछि परिस्थितिको वस्तुगत आकलन गरी सुरक्षा सक्रियता बढाएको, त्यस्ता सामाजिक सञ्जालका खाता निष्क्रिय पार्न सुरक्षा निकायहरूले पहल गरेको वा निष्क्रिय पारेको कहीँकतै देखिँदैन।’
आयोगले सुरक्षा तयारीका सन्दर्भमा तत्कालीन सरकार र सुरक्षा निकायमाथि प्रश्नचिह्न खडा गरेको छ। ‘प्रदर्शन हिंसात्मक हुनसक्ने पर्याप्त सुराक पाइसक्दा पनि सरकार र सुरक्षा निकायको पूर्वतयारी कमजोर रहेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ।
जेनजीले आह्वान गरेको प्रदर्शनलाई विभिन्न तहका बुद्धिजीवी, मानवअधिकार रक्षक, चलचित्रकर्मी, सामाजिक सञ्जाल इन्फ्लुएन्सर, अनलाइन व्यवसायी, युट्युबरहरुले समर्थन गरेको छानबिनका क्रममा पाइएको छ।
त्यस्तै केही व्यक्तिहरूले विभिन्न विद्यालयका डिजिटल बोर्ड, स्कुलका वेबसाइटहरू ह्याक गरी प्रदर्शनलाई परिणाममुखी बनाउने तयारी गरेको पाइएको प्रतिवेदनमा भनिएको छ।
‘…केही व्यक्तिहरूले विभिन्न विद्यालयका डिजिटल बोर्ड, स्कुलका वेबसाइटहरू ह्याक गरी No more screens, we are on streets, ‘We dont want likes- we want change- 8 September 2025 जस्ता नाराहरू स्क्रिनिङ गरेर प्रदर्शनलाई परिणाममुखी बनाउने तयारी गरेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘जेनजी प्रदर्शनका आह्वानकर्तासमेतका केही व्यक्तिले ‘वेकअप नेपाल’ नामक टिकटक अकाउन्टबाट २०८२ भदौ २३ गतेभन्दा पहिले नै Anything could happen in tomorrow’s protest, so be ready with a Molotov cocktail… भन्दै ७ सेप्टेम्बर २०२५ मा नै मोलोटभ ककटेल (पेट्रोलबम) बनाएर आउनका लागि आह्वान गरेको, संसद् भवन, सिंहदरबारलगायत सार्वजनिक संरचना जलाइएको वा विध्वंस गरिएको एआई फोटो/भिडियोहरु प्रदर्शनपूर्व नै सामाजिक सञ्जालमा साझा भएको पाइएको।’
भदौ २३ गतेको विरोध प्रदर्शनलाई शान्तिपूर्ण रूपमा गर्ने भनी एउटा समूह र अनलाइनमा विध्वंसात्मक बनाउने भन्ने अर्को समूह गरी दुईवटा समूहले तयारी गरिरहेको भन्ने सञ्चारमाध्यम र छलफल/बयानका क्रममा खुल्न र पुष्टि हुन आएको आयोगले जनाएको छ। प्रदर्शनलाई विध्वंसात्मक बनाउने योजनामा अर्को समूह पनि रहेको छानबिन समितिको ठहर छ।




