संघले प्रदेशलाई ‘को–अपरेटिभ’ को रूपमा राखेको छ : सभामुख यादव

हिमाल प्रेस ७ पुष २०८२ १५:०१ | Monday, December 22, 2025
32
SHARES
संघले प्रदेशलाई ‘को–अपरेटिभ’ को रूपमा राखेको छ : सभामुख यादव

जनकपुरधाम- मधेश प्रदेशसभाका नवनिर्वाचित सभामुख रामअशिष यादवले संघीय सरकारले प्रदेशलाई अधिकारविहीन ‘को–अपरेटिभ’ को रूपमा प्रयोग गरिरहेको आरोप लगाएका छन्।

सोमबार पदभार ग्रहण गर्दै सभामुख यादवले प्रदेशलाई संविधानबमोजिम अधिकारी नदिई संघीयताको नाममा को–अपरेटिभ संस्थाको रूपमा बजेट खर्चको निगरानी गर्ने गर्ने युनिटको रूपमा राखेको बताए।

उनले प्रदेशसभामा सुशासन कायम गर्दै लोकतान्त्रिक मूल्यमान्यताअनुसार प्रभावकारी, उत्तरदायी र मर्यादित रूपमा सञ्चालन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। सभामुख यादवले संसदीय अभ्यासलाई सुदृढ बनाउने, विधायिकाको गरिमा उकास्ने र विधिप्रक्रियामा आधारित निर्णयलाई प्राथमिकता दिने उल्लेख गरे।

‘सभामुखको कुर्सी राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि हुन्छ,’ उनले भने,‘संविधान, कानुन र संसदीय नियमावलीको पूर्ण पालना गराउँदै सभालाई उत्तरदायी बनाउने मेरो दायित्व हो।’

उनले विषयगत समितिहरूलाई सक्रिय बनाउँदै विधेयकहरूमा छलफल, संशोधन, सहमति निर्माणलगायतका काममा सभामुखको भूमिकालाई प्रभावकारी बनाउनेमा लाग्नेसमेत बताए।

प्रदेशसभाले कार्यपालिकामाथि प्रभावकारी निगरानी कायम गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले बजेट कार्यान्वयन, सार्वजनिक खर्चको पारदर्शिता र सेवाप्रवाहको गुणस्तरमा संसद सशक्त हुनुपर्ने धारणा राखे।

पदभार ग्रहण कार्यक्रममा सरकारका मन्त्री, सांसद, उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ७ पुष २०८२ १५:०१ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast