काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सदस्यमा सिन्धुपाल्चोक जिल्लाबाट चार नेता निर्वाचित भएका छन्। निर्वाचित हुनेमा शेरबहादुर तामाङ, सुभाष कर्माचार्य, हस्तबहादुर पण्डित र डोल्मा तामाङ छन्। कर्माचार्य, पण्डित र डोल्मा पहिलोपटक केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका हुन्।
शेरबहादुर भने यसअघि नै एमाले स्थायी कमिटी सदस्य थिए। उनी यसपटक खुलातर्फबाट निर्वाचित भएका हुन्। तामाङले एक हजार चार सय २२ मत ल्याएका छन्।
शेरबहादुर तामाङसँग पार्टी कार्यालय सचिवको जिम्मेवार पूरा गरेको अनुभव छ। तामाङ संघीय सरकारका पूर्वमन्त्री हुन्। उनी २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए।
कर्माचार्य समावेशी (आदिवासी जनजातिबाट) निर्वाचित भएका हुन्। उनको मत एक हजार तीन सय ४२ छ। कर्माचार्यले २०४८ सालदेखि २०५७ एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीको उपप्रमुख भएर काम गरेका थिए। यसैगरी उनी २०५७ देखि २०६७ सम्म जिल्ला कमिटीको प्रमुख थिए। २०६७ पछि तत्कालीन बागमती अञ्चल कमिटीको सदस्य भएका उनी दसौँ महाधिवेशनपछि केन्द्रीय कमिटीको मनोनीत सदस्य थिए।
केन्द्रीय कमिटीमा भने उनी पहिलोपटक निर्वाचित भएका हुन्।
कर्माचार्यले २०५१ सालमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका थिए। २०५६ सालको चुनावमा भने उनी निर्वाचित भएका थिए। २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेदवार भए पनि उनी पराजित भएका थिए।
भूगोल क्षेत्र (बागमती) बाट केन्द्रीय सदस्यमा निर्वाचित पण्डितले एक हजार चार सय ३३ मत ल्याएका छन्। पण्डित एमाले जिल्ला कमिटीका पूर्वअध्यक्ष हुन्। उनले प्रदेशसभा सदस्य निर्वाचन र हेलम्बु गाउँपालिका अध्यक्षका लागि भएको चुनावमा पराजय व्यहोरेका थिए।
डोल्मा खुला क्षेत्र महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। उनले एक हजार नौ सय २९ मत ल्याएकी छन्। डोल्मा २०६४ सालको संविधानसभामा समानुपातिकतर्फबाट सदस्य थिइन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल महिला संघको सिफारिसमा महाधिवेशन प्रतिनिधि मनोनयन गरेका थिए।




