खगराज अधिकारी
पोखरा– नेकपा एमालेको १०औँ महाधिवेशनमा खगराज अधिकारी सचिव पदका दाबेदार थिए। एमालेको केन्द्रीय राजनीतिमा राम्रै पकड बनाएका स्पष्ट वक्ता अधिकारी उतिबेलै चिवतन महाधिवेशनमा सचिव बनेको भए अहिले ११ औँ महाधिवेशनसम्म कुर्नुपर्ने थिएन।
तत्कालीन अध्यक्ष केपी शर्मा ओली र डा. भीम रावलबीच नेतृत्वमा रोचक प्रतिस्पर्धाबीच पदाधिकारीमा व्यवस्थापन मिलाउँदा उनको नाम अन्तिम समयमा काटिएको थियो। यसपालि भने चुनावी प्रतिस्पर्धामा उनी सचिवमा निर्वाचित हुन सफल भए।
महाधिवेशनमा संस्थापन प्यानल पदाधिकारीमा दुईबाहेक अन्य सब पदमा निर्वाचित हुँदा अधिकारी पनि १३३१ मत प्राप्त गर्दै सचिव निर्वाचित भएका हुन्। त्यसो त सचिवमा ओली प्यानलकै सबै उम्मेदवार निर्वाचित भए। प्राप्त मतका आधारमा क्रमशः महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल निर्वाचित भएका हुन्।
रोचक त तथ्य के छ भने अधिकारी कास्कीबाट एमालेको सचिवसम्म पुग्ने पहिलो नेता भएका छन्। यसअघि पदाधिकारीसम्म कोही पनि नेता पुगेका थिएनन्।
कास्कीबाट यसपालि केन्द्रीय सदस्यमा जगतबहादुर विश्वकर्मा, कृष्णबहादुर थापा, मञ्जुदेवी गुरुङ, राजीव पहारी, प्रभा कोइराला, देवका पहारी, केशबहादुर कसी, रश्मि आचार्य, नवराज ओझा र क्रान्ति बुर्लाकोटी निर्वाचित भएका छन्। कास्कीकै डा. भरतराज पहारी केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा सर्वसम्मत निर्वाचित भइसकेका छन्।
पार्टी राजनीतिदेखि संसदीय राजनीतिमा ओलीकै साथै दिँदै आएका अधिकारीले यसपालि पनि अवसर पाउन सफल भए। २०७९ सालको प्रदेशसभा चुनाव लड्न ओलीकै आग्रहमा केन्द्रबाट प्रदेश ओर्लिएका उनी आफ्नै क्षेत्रबाट निर्वाचित भएका थिए। तत्कालीन एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराज कास्की क्षेत्र १ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित हुँदै गण्डकीमा दुईपल्टसम्म मुख्यमन्त्री बन्ने नेता हुन्।
एमाले उपाध्यक्षमा निर्वाचित लमजुङका पृथ्वीसुब्बा गुरुङ र अधिकारीबीच गण्डकी प्रदेशमा गुटको लडाइँ बरोबर सुन्ने गरिन्छ। ११ औँ महाधिवेशनमा ओली नेतृत्वको प्यानलमा गुरुङ र अधिकारी एउटै कित्तामा उभिएर महाधिवेशन प्रतिनिधिसँग भोट मागे। यसो भइरहँदा पनि चुनावमा मतदातालाई बाँडिएको केही सूचीमा भने गुरुङको यथावत् राखेर अधिकारीको नाम काटिएको पनि गुनासो उनीनिकट कार्यकर्ता गर्छन्। गुरुङले भने पदाधिकारीमा लोकप्रिय मत प्राप्त गरेका छन्।

गण्डकीको प्रतिनिधित्व हुने गरी संस्थापन पक्षबाट पदाधिकारीसहित केन्द्रीय सदस्यमा चुनाव लडेकामध्ये एकजना बाहेक सबैले जिते। संस्थापन पक्षबाट नारायण मरासिनीले मात्र चुनाव हारेका हुन्।
२०३२ सालमा एमालेको पार्टी सदस्यता लिएर राजनीतिमा होमिएका खगराज अधिकारीको नवौँ महाधिवेशनको किस्सा भने तितो छ। उनी त्यति बेला एक भोटले उनी केन्द्रीय सदस्य बन्न पाएका थिएनन्।
२०७४ सालको प्रदेश सभा चुनावसँगै गण्डकी प्रदेशमा पृथ्वीसुब्बा संस्थापक मुख्यमन्त्री बनेयता गण्डकीमा दुवैबीच आपसी गुट मौलाएको हो। तर पार्टीको नीतिगत नेतृत्वको विषयमा उनीहरुबीच फरक धार छैन।
पार्टी राजनीतिमा सधैँ ओलीका पक्षमा खरो उत्रिएका अधिकारी संसदीय राजनीतिमा ६ पल्टसम्म चुनाव लड्दा तीनपल्ट मात्र जितेर पनि सदैव केन्द्रीय राजनीति वरिपरि छन्। उनले कुनै न कुनै लाभको पद पाएकै छन्।
विगतमा पार्टीभित्र माधवकुमार नेपाल र ओलीबीच प्रतिष्ठाको लडाइँ हुँदा सांसद नरहेका अधिकारीले संघीय सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने अवसर पाएका थिए। २०७४ मा नेकपा गठबन्धनबाट कास्की क्षेत्र १ मा संघको चुनाव जितेका उनी ओलीकै आग्रहमा २०७९ मा प्रदेशमा ओर्लिएका हुन्।
०७४ को चुनाव जित्दा सहकार्य गरेका तत्कालीन माओवादीका दीपक कोइरालालाई ०७९ मा हराउँदै अधिकारीले मुख्यमन्त्री बन्ने ढोका खोलेका थिए। गण्डकी प्रदेशमा हालका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग चुनाव अंकगणितमा तलमाथि पर्दा मुख्यमन्त्री गुमाएका थिए। विगतमा केपी ओली प्रधानमन्त्री छँदा दुई साता गृहमन्त्रीको अनुभव हासिल गरेका उनले गण्डकीमा फेरि पनि मुख्यमन्त्री बन्ने आस मारेका छैनन्।
पोखराको वेगनासमा २०१८ चैत १३ मा जन्मिएका अधिकारी स्थानीय आनन्दज्योति माध्यमिक विद्यालयका वामपन्थी विचारका शिक्षकबाट प्रभावित हुँदै राजनीतिमा पाइला मोडेका थिए। उनले थुप्रै पटक जेलनेल भोगेका छन्। २०३६ सालयताका प्रत्येकजसो आन्दोलनमा उनले मोर्चामा रहेर नेतृत्व गरिरहेको इतिहास छ।
अधिकारीले लामो समय भूमिगत राजनीतिक जीवन बिताएका छन्। २०३६ सालमा विद्यार्थी आन्दोलनका अगुवाइ गरेका उनी दुई पल्टसम्म पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति बने। २०४० सालमा पहिलो पल्ट स्ववियु सभापति बनेपछि भने उनको राजनीतिले टर्निङ प्वाइन्ट लिएको मान्छन्। उनले नेपाली विषयमा स्नातकोत्तर गरेका छन्।
सादा राजनीतिक जीवन, कार्यकर्तामा अत्यन्तै सरल रुपमा प्रस्तुत हुने उनलाई कार्यकर्ताहरु विकासप्रेमी नेताका रुपमा लिने गर्दछन्।
पञ्चायतविरुद्धको आन्दोलनका अग्रमोर्चामा रहेर नेतृत्व गरेका अधिकारीले ५ वर्ष जेल जीवन बिताएका छन्। अधिकारी २०४६ सालमा नेकपा एमाले कास्कीको सचिव र २०५० देखि ५३ सम्म पार्टी अध्यक्षको जिम्मेवारीमा थिए।
एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र पोलिटव्युरो सदस्यसमेत बने। नवौँ महाधिवेशनमा पराजित भए पनि एमाले र नेकपा माओवादी केन्द्रको एकतासँगै बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केन्द्रीय सदस्य चुनिएका थिए। पछिल्लो समय उनी पार्टीको स्थायी कमिटी सदस्य थिए।
तत्कालीन गण्डकी अञ्चल कमिटीको सचिव हुँदै संयोजक बनेका अधिकारी पहिलोपटक २०५१ सालमा कांग्रेसका प्रभावशाली नेता तारानाथ रानाभाटलाई हराउँदै कास्की १ बाट निर्वाचित भई प्रतिनिधिसभा सांसद बनेका थिए। त्यससमय तत्कालीन एमाले संसदीय दलका नेता रहेका मनमोहन अधिकारीले उनलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए।
उनी २०५६ र २०६४ सालको निर्वाचनमा उम्मेदवार बने पनि पराजित भए। २०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री बनेका अधिकारीले नेपालमै पहिलोपटक स्वास्थ्य बिमा कार्यक्रम ल्याएका थिए। २०७४ सालको प्रतिनिधि सभा चुनावमा विपक्षीसँग १४ हजार मतान्तरले निर्वाचित अधिकारी त्यसबेला एमालेको संसदीय दलको प्रमुख सचेतक बनेका थिए।
पार्टीको ११ औं महाधिवेशनमा सचिव निर्वाचित भएपछि उनले मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले आफ्नो जित सबैको भरोसा, साथ र उत्साहको परिणाम भएको बताएका छन्। उनी भन्छन्, ‘यो जित तपाईं सम्पूर्ण मतदाताको जित हो। प्राप्त जिम्मेवारी इमानदारी, पारदर्शिता र समर्पणका साथ पूरा गर्नेछु।’





