बुटवलमा पुस ३ देखि औद्योगिक प्रदर्शनी हुने

हिमाल प्रेस १ पुष २०८२ २१:०० | Tuesday, December 16, 2025
16
SHARES
बुटवलमा पुस ३ देखि औद्योगिक प्रदर्शनी हुने

बुटवल- बुटवलमा पुस ३ गतेदेखि १७ गतेसम्म ‘१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२’ हुने भएको छ। रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा प्रदर्शनी हुन लागेको हो।

मंगलबार मेलास्थल बुटवल मण्डपमा पत्रकार सम्मेलन गर्दै आयोजकले तयारी पूरा भएको जनाएका छन्। ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ नाराका साथ प्रदर्शन आयोजना गरिएको छ।  प्रदर्शनीको बिहीबार पुस ३ गते दिउँसो अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्नेछन्।

प्रदर्शनीले स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताए। स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउन प्रदर्शनी राखिएको उनले बताए।

‘स्वदेशी उत्पादनको प्रयोगलाई सबैले प्राथमिकता दिन आवश्यक छ। हामीले आयोजना गर्ने प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्तासँग सोझो सम्पर्क स्थापना गराउँदै नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा पुग्ने विश्वास लिईएको छ,’ अध्यक्ष पराजुलीले भने। उनले देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको औद्योगिक व्यवसायको संरक्षण, सम्वर्द्धन र विकामा महोत्सवले टेवा पुर्‍याउने आयोजकले विश्वास लिएका छन्।

प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिब ३५० स्टलहरू रहनेछन्। प्रदर्शनीको करिब ८ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

प्रकाशित: १ पुष २०८२ २१:०० | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast