सन्दीप लामिछाने बीपीएलमा राजशाही वारियर्ससँग अनुबन्धित

हिमाल प्रेस २८ मंसिर २०८२ १७:३८ | Sunday, December 14, 2025
32
SHARES
सन्दीप लामिछाने बीपीएलमा राजशाही वारियर्ससँग अनुबन्धित

काठमाडौँ- नेपालका स्टार लेग–स्पिनर सन्दीप लामिछाने सन् २०२६ को सिजनका लागि बंगलादेश प्रिमियर लिग (बीपीएल) टोली राजशाही वारियर्ससँग अनुबन्धित भएका छन्।

राजशाही वारियर्सले आइतबार सामाजिक सञ्जालमार्फत नयाँ सिजनका लागि लामिछानेलाई अनुबन्ध गरेको पुष्टि गरेको हो।

टोलीले आफ्नो पोस्टमा लेखेको छ,‘हिमालयन म्याजिक सन्दीप लामिछाने, नेपाल-स्वागत छ। तपाईं खेल हेरिरहनु मात्र होइन, यो लडाइँको हिस्सा हुनुहुन्छ। राजशाही वारियर्सलाई पछ्याउनुहोस् र सँगै गौरवको खोजी गरौँ।’

लामिछाने बीपीएल ड्राफ्टका लागि दर्ता भएका पाँच नेपाली खेलाडीमध्ये एक थिए। उनीसँगै दीपेन्द्र सिंह ऐरीलगायतले नाम दर्ता गरेका थिए। अक्सनमा लामिछाने नबिके पनि राजशाही वारियर्सले पछि ड्राफ्टबाहिरबाट उनलाई अनुबन्ध गरेको हो।

लामिछाने नेपालका सबैभन्दा धेरै अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्ने क्रिकेटरमध्ये एक हुन्। उनले इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स, अष्ट्रेलियाको बिग ब्यास लिगमा मेलबर्न स्टार्स र होबार्ट हरिकेन्स, क्यारेबियन प्रिमियर लिगमा जमैका टालावाह्स, सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्स, ग्लोबल टी-२० क्यानडामा मोन्ट्रियल टाइगर्स र भ्यानकुभर नाइट्स, तथा पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सका लागि खेलिसकेका छन्।

उनले २०२५ नेपाल प्रिमियर लिगमा विराटनगर किङ्सलाई प्लेअफसम्म पुर्‍याएका थिए र अविनाश बोहोरा तथा शेर मल्लासँग संयुक्त रूपमा १७ विकेटसहित प्रतियोगिताका सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।

बीपीएल सुरु भएदेखि नै राजशाही फ्रेन्चाइजले विभिन्न परिवर्तनहरू भोग्दै आएको छ। डुरोन्टो राजशाहीले पहिलो दुई सिजनमा सहभागिता जनाएपछि फ्रेन्चाइज निलम्बनमा परेको थियो। त्यसपछि नयाँ स्वामित्व र व्यवस्थापनसहित २०१६ संस्करणमा राजशाही किङ्सका रूपमा फर्किएको टोली २०१९ मा राजशाही रोयल्स नाममा खेल्यो, तर पछि लिगबाट हटाइयो। सन् २०२४ मा टोली डुरबार राजशाहीका रूपमा पुनः सहभागी भयो र यसै वर्ष राजशाही वारियर्सका रूपमा पुनः नामकरण गरिएको हो।

सन् २०२६ को बीपीएल सिजनमा रंगपुर राइडर्स, सिलहट टाइटन्स, राजशाही वारियर्स, ढाका क्यापिटल्स, नोआखाली एक्सप्रेस र चट्टोग्राम रोयल्स गरी छ टोली सहभागी हुनेछन्।

राजशाही वारियर्समा लामिछाने श्रीलंकाका बिनुरा फर्नान्डो र दुशन हेमन्था, पाकिस्तानका हुसेन तलात, जहाँदाद खान, मोहम्मद नवाज र शाबिजादा फरहान, तथा न्युजिल्यान्डका अलराउन्डर जिमी निसामसहितको बलियो विदेशी टोलीको हिस्सा हुनेछन्।

प्रकाशित: २८ मंसिर २०८२ १७:३८ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast