बेमौसमी वर्षाका कारण घट्यो धान उत्पादन

हिमाल प्रेस २८ मंसिर २०८२ ७:४५ | Sunday, December 14, 2025
16
SHARES
बेमौसमी वर्षाका कारण घट्यो धान उत्पादन

मोरङ- मोरङमा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो ।

मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको आकलन रहेको बताइन् । गत वर्ष जिल्लामा तीन लाख ३९ हजार तीन दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टन उत्पादन भएको उनले जानकारी दिइन्।

गत वर्ष प्रतिहेक्टर चार दशमलव ८८ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर चार दशमलव ८५ मेट्रिक टनमात्र उत्पादन भएको हो । यस वर्ष जिल्लामा ६९ हजार ४६७ दशमलव ९२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको तथ्यांक छ ।

‘खेतीयोग्य जमिन आसपासका खोलानाला मास्ने क्रम बढ्दो भएकाले पानीको निकास हुन सकेन र पाकेको धानमा बढी क्षति पुगेर उत्पादन घटेको हुनसक्ने हाम्रो अनुमान छ’, कृषिविज्ञ राजेन्द्र उप्रेतीले भने । उनले यस वर्ष धान राम्रो उत्पादन भए पनि थन्क्याउने समयमा बेमौसमी वर्षाले असर पुगेको बताए ।

बेलबारी–११ भाङबारीका वीरेन्द्र खत्रीले करिब छ बिघा जमिनमा लगाएको धानखेतीमा करिब ९० मन धानमा बेमौसमी वर्षाले क्षति पुगेको बताए। धानमा क्षतिसँगै मूल्यमा पनि गिरावट आएकाले किसान चिन्तित हुनुपरेको खत्री बताउछन् ।

यस वर्ष धानको बजार मूल्य प्रतिमन रु एक हजार २०० देखि रु एक हजार ३०० सम्म रहेको उनले सुनाए । गत वर्ष मङ्सिरमा धानको बजार मूल्य प्रतिमन रु एक हजार ७०० देखि रु एक हजार ८०० सम्ममा कारोबार भएको खत्रीले जानकारी दिए ।

प्रकाशित: २८ मंसिर २०८२ ७:४५ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast