मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् मन्त्री बन्न लागेका चार अनुहार

हिमाल प्रेस २६ मंसिर २०८२ १३:४१ | Friday, December 12, 2025
88
SHARES
मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् मन्त्री बन्न लागेका चार अनुहार

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार चार जना मन्त्री थप्न लागिएको हो।  प्रधानमन्त्री कार्कीले मन्त्रीमा सिफारिस गरेको नाम राष्ट्रपति कार्यालयमा पठाइएको र नयाँ मन्त्रीहरूले अपराह्न ३ बजे शीतल निवासमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

नयाँ मन्त्रीमा श्रद्धा श्रेष्ठ, कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी र माधव चौलागाईं छन्। उनीहरूलाई क्रमशः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको हो।

यस विस्तारसँगै मन्त्रिपरिषद् १४ सदस्यीय बन्नेछ। यसअघि मन्त्रिपरिषद् १० सदस्यीय थियो। पछिल्लो पटक कात्तिक ९ गते पुनर्गठन गरेर १० सदस्यीय बनाइएको हो।

नयाँ मन्त्री नियुक्तिसँगै यसअघिका मन्त्रिहरूको जिम्मेवारी हेरफेर हुने भएको छ। तीन मन्त्रालय सम्हालिरहेका मन्त्री अनिलकुमार सिन्हाको जिम्मेवारीमध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मात्रै  हुने बताइएको छ भने उनका अन्य दुई मन्त्रालय यथावत् रहनेछन्।

नियुक्त हुन लागेका नयाँ मन्त्रीहरूको पृष्ठभूमि फरक छ। भूमि मन्त्रालय सम्हाल्न लागेका कुमार इङ्नाम ‘काठमाडौँ स्कुल अफ ल’ का प्राध्यापक तथा अन्तर्राष्ट्रिय व्यापार, मध्यस्थता र वित्तीय अपराधसम्बन्धी कानुनका विज्ञ हुन्। उनले यसअघि इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अध्यापन गर्थे।

श्रम मन्त्रालय सम्हाल्न लागेका राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआई) तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआबी) का संस्थापक प्रमुख हुन्।

वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका माधव चौलागाईं जनस्वास्थ्य विज्ञ हुन्। कर्णाली क्षेत्रमा गहन अध्ययन गरेका उनले ‘सपादलक्ष कर्णाली’ पुस्तक लेखेका छन्। साथै उनको गीत ‘मान्ठ हुँ म मान्ठ’ पछिल्लो समय निकै चर्चामा आएको थियो।

महिला तथा बालबालिका मन्त्रालय सम्हाल्न लागेकी श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक तथा ‘सस्टेनेबल टुरिजम’ परियोजना प्रमुख थिइन्। पर्यटन र दिगो विकासमा उनको अनुभव उल्लेखनीय मानिन्छ। प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेकी थिइन्।

प्रकाशित: २६ मंसिर २०८२ १३:४१ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast