जेनजी आन्दोलनमा कारागारबाट भागेर पोखरामा शृंखलाबद्ध चोरी, कास्की प्रहरीले पक्रियो २ जना

विजय नेपाल २५ मंसिर २०८२ १०:५२ | Thursday, December 11, 2025
44
SHARES
जेनजी आन्दोलनमा कारागारबाट भागेर पोखरामा शृंखलाबद्ध चोरी, कास्की प्रहरीले पक्रियो २ जना

पोखरा- जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार कैदीबन्दी पोखरामा केही दिनयताका शृंखलाबद्ध चोरीमा संलग्न भएको खुलेको छ। प्यूठान जिल्ला स्थायी घर भई हाल पोखरा ३, नदीपुर बस्दै आएका २४ वर्षीय सुमित थापा मगर यस्ता व्यक्ति हुन्, जो विभिन्न मुद्दामा आठ पटकसम्म पक्राउ परेका थिए।

पछिल्लो समय उनी कैद भुक्तानका लागि कास्की कारागारमा थिए। तर, जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा अरू कैदीबन्दीसँगै उनी पनि भाग्न सफल भएका थिए। कारागारबाट छुटेयता पोखरामा एकपछि अर्को चोरीमा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनीसहित २ जनालाई पक्राउ गर्न सफल भएको छ।

प्रहरी निरीक्षक रेशम पौडेलका अनुसार पोखरामा एकपछि अर्को चोरीका घटना बढ्न थालेपछि कार्यालयमा उजुरी परेको थियो। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीसहित धादिङ घर भई हाल पोखरा–३, नदीपुर बस्ने २७ वर्षीय सुजन परियारलाई रामघाटबाट पक्राउ गर्न सफल भएको हो।

अनुसन्धानका क्रममा उनीहरुमध्ये सुमित यसअघि अभद्र व्यवहार, चोरी उद्योग, चोरी र केही सार्वजनिक अपराधसमेत गरी आठ पटकसम्म पक्राउ परेको खुलेको छ। त्यस्तै, अर्का सुजन पनि अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए।

दुवै प्रतिवादीलाई चोरी तथा डाँकासम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान पक्राउ जारी रहेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए। मुलुकी अपराध संहिता, २०७४ अनुसार चोरी तथा डाँकासम्बन्धी कसूरमा ३ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

प्रहरी अनुसन्धानमा उनीहरु करिब डेढ महिनामा फरक–फरक चार ठाउँबाट नगद तथा जिन्सी चोरी गरेको खुलेको छ। तीमध्ये सुमित चाहिँ सबै घटनामा संलग्न छन्। प्रहरीले तयार पारेको विवरणअनुसार २७ असोजमा पोखरा–१३, विपीमार्गस्थित पोखरा लक्ष्मी टे«डर्सभित्र काउन्टर टेबलको घर्रा फोडी ४१ हजार नगद चोरीमा सुमित संलग्न थिए।

उनले राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, बिल बुक, नागरिकतासहितको ब्याग चोरी गरेको खुलेको छ। ४ मंसिरमा पोखरा–४, आदर्श मार्ग सडक किनारमा पार्किङमा रहेको ग१४प १०२० नम्बरको होण्टा कम्पनीको पहेंलो कालो रङको डियो स्कुटरमा भने दुबै जना संलग्न रहेको पाइएको छ।

६ मंसिरमा पोखरा–१७, ड्यामसाइडस्थित आरुस स्टोर्स प्रालिको ढोका फोडेर २ लाख ७३ हजार चोरी भएको थियो। उक्त चोरीमा पनि उनै सुमित संलग्न रहेको प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए।

१० मंसिमा पोखरा न्युरोडस्थित एसबी वाइन सप अगाडि पार्किङमा रहेको ग१क २५९८ नम्बरको गाडीको लाइसेन्स, बिलबुक, एटिएम कार्ड, विभिन्न चेक र नगद ३५ हजार चोरीमा पनि दुबैजना संलग्न थिए।

जेनजी आन्दोलनका कास्की कारागारबाट ७ सय ७३ जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये अधिकांश फर्के पनि अझै १ सय ८० जना फरार सूचीमा रहेको कारागार प्रमुख राजेन्द्र शर्माले जानकारी दिए। फरार हुनेहरुमध्ये जबर्जस्ती करणी, लागु औषधसमेतका गम्भीर प्रकृतिका कसूरमा जेल सजाय भोगिरहेकाहरु बढी रहेको शर्माले बताए।

प्रकाशित: २५ मंसिर २०८२ १०:५२ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast