काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (विज्ञापन नं. ४४/०८२/८३) का परीक्षार्थीका लागि सूचना जारी गर्दै सरकारी परिचयपत्रका आधारमा परीक्षा दिन पाउने बताएको छ।
आयोगले अनलाइन आवेदन दिई दरखास्त स्वीकृत गराइएका उम्मेदवारको नामावली प्रकाशन गरिसकेको र प्रवेशपत्र (एडमिट कार्ड) डाउनलोड गर्दा आयोगको अनलाइन प्रणालीमा आएको खराबीका कारण धेरैलाई समस्या आएको जनाइएको छ।
सो अवस्थालाई ध्यानमा राख्दै आयोगले प्रवेशपत्र प्रिन्ट गर्न नसकेका परीक्षार्थीलाई पनि राष्ट्रिय परिचयपत्र, नागरिकता, सवारीचालक अनुमति पत्र वा आधिकारिक फोटोयुक्त सरकारी कागजातका आधारमा परीक्षा दिन मिल्ने व्यवस्था गरेको छ।
आयोगले उम्मेदवारले आफ्नो संकेत नम्बर, रोल नम्बर, नामथर, बाबुको नाम र ठेगाना एकिन गरी तोकिएको परीक्षा केन्द्रमा उपस्थित हुन अनुरोध गरेको छ।
यसैगरी, शिक्षा विकास तथा समन्वय एकाइहरूलाई समेत परीक्षार्थीले ल्याएको सरकारी पहिचान कागजातका आधारमा विवरण मिलाएर परीक्षा दिन व्यवस्था मिलाउन निर्देशन दिइएको छ।






