मधेशमा बनेको सत्तासमीकरण अन्य प्रदेशमा पनि देखिनेछ : प्रचण्ड

हिमाल प्रेस २० मंसिर २०८२ १७:०७
30
SHARES
मधेशमा बनेको सत्तासमीकरण अन्य प्रदेशमा पनि देखिनेछ : प्रचण्ड नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेश प्रदेशमा बनेको नयाँ सत्तासमिकरण अन्य प्रदेशमा पनि देखिने बताएका छन्।

शनिबार जनकपुरमा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको भन्दै मधेशबाट सुरु भएको नयाँ समीकरण अब सबै प्रदेशमा पनि अघि बढ्ने दाबी गरे।

उनले मुलुकमा गणतन्त्र स्थापित भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको र त्यसले सबैलाई आत्मसमीक्षा गर्दै सुध्रने अवसर दिएको बताए।

जनेजी आन्दोलनपछि समीक्षा गर्दै नयाँ ढंगले रुपान्तरणका साथ मुलुकको विकासमा लाग्न बृहत एकता गरिएको उनको भनाइ छ। प्रचण्डले सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउन सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने धारणा राखे।

एमालेभित्र रहेका बामपन्थी र क्रान्तिकारीका साथै अन्य कम्युनिस्ट पार्टीहरुलाई पनि नेकपामा एकताबद्ध गर्दै लैजाने उनले बताए। त्यस्तै उनले मधेश प्रदेशका महत्वपूर्ण विकास आयोजनाहरु कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले सुरु गरेकाले त्यसलाई निष्कर्षमा पुर्‍याउने काम पनि कम्युनिस्ट सरकारले नै गर्ने जिकिर गरे।

नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले नेकपामा युवाहरुको आकर्षण बढेको र हजारौँको संख्यामा युवाहरु आफ्नो पार्टी प्रवेश गरेको बताए। उनले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै जेनजी आन्दोलनको जायज मागलाई अघि बढाउन पार्टीले मुख्य भूमिका खेल्ने जिकिर गरे।

अन्य नेकपा नेताहरुले पार्टीलाई बलियो शक्तिको रुपमा स्थापीत गर्दै मुलुकमा देखिएका बेथिति अन्त्य गर्ने धारणा राखेका थिए। नेकपाले पार्टी एकताको सन्देश दिन विभिन्न प्रदेशमा सन्देशसभा गर्दै आएको छ। अब कर्णाली र काठमाडौँमा एकता सन्देशसभाको आयोजना गरिने नेकपाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast