एमाले ११औँ महाधिवेशन : प्रतिनिधि सूची अन्तिम चरणमा

हिमाल प्रेस १७ मंसिर २०८२ १७:२६
6
SHARES
एमाले ११औँ महाधिवेशन : प्रतिनिधि सूची अन्तिम चरणमा

काठमाडौँ- नेकपा एमालेको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र रुपमा अघि बढाइएको छ। महाधिवेशन व्यवस्थापन तयारीका विषयमा आज सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा महासचिव शंकर पोखरेलसहितका नेताहरूबीच छलफल भएको छ।

छलफलमा उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू, तोकिएका संगठन विभागका प्रमुखसहित विभागीय प्रमुखहरू, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य तथा व्यवस्थापन समिति सचिवालयमा रहेका अन्य नेताहरू सहभागी थिए।

महाधिवेशनका लागि जिल्ला र प्रवासहरूबाट प्राप्त प्रतिनिधिको सूचीलाई केन्द्रीय संगठन विभागले अन्तिम रूप दिने कार्य गरिरहेको बैठकमा जानकारी गराइएको छ।

गत मंसिर १३ गते सबै मातहतका कमिटी र जनसंगठनमा देखिएका विवाद समाधान भएपछि प्रतिनिधि सूची पूर्णरूपमा केही दिनमै टुंगो लाग्ने जनाइएको छ। ओखलढुंगा र धनकुटाका विवाद बाहेक अन्यका महाधिवेशन प्रतिनिधिको सूची तयार भइसकेको छ।

बैठकपछि उपमहासचिव ज्ञवालीले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिए। महाधिवेशनमा करिब दुई हजार चार सय भन्दा बढी प्रतिनिधि सहभागी हुने प्रारम्भिक अनुमान गरिएको छ। देशभरका प्रदेश, जिल्ला, जनसंगठन तथा मोर्चा संगठनहरूबाट चयन हुने प्रतिनिधिहरूले नेतृत्वसम्बन्धी महत्त्वपूर्ण निर्णयमा सहभागी हुनेछन्।

महाधिवेशन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुनेछ।

प्रकाशित: १७ मंसिर २०८२ १७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast