काठमाडौँ– नेकपा एमालेको अध्यक्षका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरेपछि मुलुककै ठूलो कम्युनिस्ट पार्टीमा तरंग उत्पन्न भएको छ। निरन्तर तेस्रो पटक अध्यक्ष बन्न लागेका ओलीमाथि पोखरेलले चुनौती दिने वक्तव्य निकालेपछि राजनीतिक क्षेत्रमा चर्चाको विषय बनेको हो। यसअघि दुई कार्यकाल अध्यक्ष बनेका ओली अब तेस्रो पटक अध्यक्ष बन्ने तयारीमा छन्।
पोखरेलले ओलीसँग केही महत्त्वपूर्ण अपेक्षा राखेका छन्। ओलीले नेतृत्व हस्तान्तरणका लागि सकारात्मक भूमिका खेल्ने अपेक्षा पोखरेलेको छ। यसैगरी पोखरेलले ओलीलाई पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई स्मरण गराउँदै त्यसलाई सम्मान गर्न आग्रह गरेका छन्।
पोखरेलले ओलीसँग गरेको अर्को अपेक्षा हो, नेतृत्व अवधिको सीमा। पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनर्स्थापित गरिनुपर्ने पोखरेलको दाबी छ। आफू तेस्रोपटक अध्यक्ष बन्नकै लागि ओली पार्टीको विधान संशोधन गरेका छन्। यसअघि एमाले विधानमा पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकालको प्रावधान थियो।
पोखरेलले ओलीलाई अभिभावकीय भूमिकामामार्फत सहज निकासका लागि अनुरोध गरेका छन्। पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको तयारीको बीचमा पार्टी पुनर्गठन र रुपान्तरणका लागि पोखरेलले यस्तो प्रस्ताव अनुरोध गरेका हुन्।
पार्टीमा जनताको बहुदलीय जनवादलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्न कार्यकर्तालाई अपिल गरेका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिलाउने बाचा पोखरेलको छ। ओलीले भण्डारीलाई पार्टी सदस्य बन्न रोक लगाएका थिए।
ओलीले पोखरेलका अपेक्षा कसरी सम्बोधन गर्छन् त्यो त आगामी दिनमा थाहा हुनेछ। यद्यपि पोखरेलका लागि ओलीका अबका गतिविधि कम चुनौतीपूर्ण हुने छैन।
ओलीले आफूसँग जसले प्रतिस्पर्धा ग¥यो त्यो मानिसलाई पार्टीबाटै हटाइदिएका छन्। यसको पहिलो सिकार बनेका थिए- भीम रावल। रावलले पार्टीको दसौँ महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका थिए। एमालेको सचिवालय बैठकले २०८१ पुस १० मा रावललाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको थियो।
ओलीले रावलमाथि पार्टीविरुद्ध गतिविधि गरेको आरोप लगाएका थिए। अध्यक्षमा ओलीसँग पराजित भएपछि उनलाई पार्टीले कुनै जिम्मेवारी दिएको थिएन। नेतृत्वको कट्टर आलोचक मानिने रावल सधैँ ओलीको आँखाको तारो बनेका थिए।
एमालेबाट निष्कासित रावल मातृभूमि जागरण अभियानमार्फत सक्रिय थिए। यतिबेला उनको अभियान पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा विलय भएको छ। रावल अब नेपाली कम्युनिस्ट पार्टीका नेता भएका छन्।
यसैगरी पार्टीको नवौँ महाधिवेशनमा ओलीविरुद्ध प्रतिस्पर्धा गरेका माधवकुमार नेपाल पनि एमालेमा रहन सकेनन्। पार्टीमा विभेद चुलिएपछि नेपाल नेतृत्वमा २०७८ भदौमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो। यतिबेला समाजवादी पनि नेपाली कम्युनिस्ट पार्टीमा विलय भइसकेको छ। नेपाल र रावल त ओलीसँग प्रतिस्पर्धा गरेकै कारण पार्टीमा अट्न सकेनन्। कुनै बेला एमालेका अध्यक्ष रहेका झलनाथ खनाल र वामदेव गौतम पनि ओलीकै कारण पार्टीमा टिक्न नसकेको नेताहरूको बुझाइ छ। उनीहरू सबै प्रचण्डको छहारीमा पुगेका बेला अब पोखरेलमाथि ओलीले कस्तो व्यवहार गर्लान् भन्ने चासोको विषय बनेको हो।


