जनकपुरधाम- त्रेता युगमा भगवान राम र माता सीताबीच भएको विवाहको स्मरणमा साताव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन सोमबार मटकोर विधि सम्पन्न भएको छ।
मैथिल विवाह पद्धतिअनुसार विवाहको पूर्वसन्ध्यामा बेहुली पक्षले मटकोर विधि मनाउने गर्दछ। यही परम्पराअनुसार विवाहपञ्चमीको पाँचौँ दिन जानकी मन्दिरको आयोजनमा मटकोर विधि सम्पन्न भएको हो।
जानकी मन्दिरबाट बाजागाजाका साथ उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवको अगुवाइमा हजारौँको संख्यामा निस्केका साधुसन्त, श्रद्धालु तथा स्थानीय महिलाको टोलीले गंगासागरमा मटकोर विधि सम्पन्न गरेका हुन्।
छोरी झैँ माता सीताको प्रतिकात्मक स्वरुप बनाई वैवाहिक मैथिली लोकगीत गाउँदै गंगासागरबाट विवाहका लागि वेदीमा प्रयोग हुने माटो खनेर मटकोर विधि गरिएको हो।
मिथिलाञ्चल क्षेत्रमा मैथिली संस्कारअनुसार छोरीको विहेमा मनाइने हरेक विधि माता सीतालाई छोरीसरह मानेर विवाहपञ्चमी महोत्सवमा मनाइने गरिन्छ।
मंसिर शुक्ल पञ्चमी तिथिका दिन माता सीता र भगवान रामबीच विवाह सम्पन्न भएको मान्यताअनुसार मंगलबार स्वयंभर तथा राति विवाहोत्सव कार्यक्रम मनाइनेछ। स्वयंभर कार्यक्रम रंगभूमि मैदानमा आयोजना गरिनेछ भने विवाहोत्सव जानकी मन्दिर प्राङ्गणमा आयोजना गरिने जानकी मन्दिरका उत्तराधिकारी महन्त दासले जानकारी दिए।
वैवाहिक कार्यक्रम मैथिली परम्पराअनुसा ‘कान्यदानदेखि सिन्दुरदान’ सम्म गरिनेछ। त्यसको भोलिपल्ट (बुधबार) सातौँ दिन रामकलेवा (जन्ति बिदाई) मनाइन्छ।
मटकोर विधि के हो?
मैथिली विवाह संस्कारमा मटकोरको विशेष महत्व छ। हिन्दू धर्ममा धरतीलाई माताको रूपमा लिइन्छ। धरती माताको आर्शिवाद पनि नव दाम्पत्य जीवनलाई प्राप्त होस् भन्ने उद्देश्यले माटो खन्नअघि लोकगीत गाउँदै महिला टोलीले कलशमा फूल, अक्षत, रंग, दही आदि सामग्री चढाएर पूजा गर्ने गर्दछन्।
त्यसपछि विवाहमा प्रयोग हुने वेदी ९विवाह मण्डप० मा प्रयोग हुने माटो खन्ने गरिन्छ। माटो खनिसकेपछि अंकुरित चना, पिठोदालको पुरी र सख्खर र दुध मिश्रित खीर प्रसादको रुपमा सहभागी महिलाहरुलाई बाँडिने गरिन्छ।
मटकोर भनेको विवाहका दिन प्रयोग हुने वेदी अर्थात विवाह मण्डप बनाउन चाहिने माटो खन्ने विधि हो। विवाह हुने घरबाट शुभ साइतमा नजिकको खोल्सा, पोखरी, कुवा वा नदी ९धार० मा गएर पवित्र माटो खनेर घरमा ल्याइने गरिन्छ।
मिथिला संस्कृतिमा माटोलाई धरणी माता मानिन्छ। विवाह जस्तो पवित्र संस्कारका लागि उनको आशिष आवश्यक ठानिन्छ। घर–गृहस्थी र दाम्पत्य जीवनको स्थिरता, धैर्य र दीर्घ जीवन सहित दुलाहा–दुलहीको वैवाहिक जीवन मजबुत र टिकाउ होस् भन्ने कामनासहित धरती मातालाई पूजा गर्ने प्रक्रिया हो।
पूजा सम्पन्न भएपछि कलश वा डलामा पवित्र माटो सातै दिशाका नाम स्मरण गर्दै उठाइने चलन छ। यस क्रममा विभिन्न मैथिल गीतहरु टोलीमा सहभागी महिलाहरुले गोसाउनी र मंगल गीत सहित मटकोर विधिका गीतहरु गाउने गर्छिन्।
घरबाट निस्किने बेलामा महिलाहरूले गाउने लोकगीत
“हे धरती मैया,
हमर पूजन स्वीकार करी,
जनकपुरी केर बधूवर जोड़ी,
सुख–सम्पति बहाल करी ।”
पानी उठाउने बेलामा
“गंगा मैया तोहर नेह,
सदा रहय परिवार में,
एहि कलसा में उठेलौं पानी,
बार–बार आशीष दिहा ।”
माटो खन्ने बेलामा
“धरनी माई के माटी उठायल,
हमर घर–आँगन पावन भेल,
दुलहा–दुलहिन के मंगल होअय,
एहि अवसर सब धन्य भेल।”
माटो खनिसकेपछि जाने बेलामा
“ए जानू हम सब चली मटकोर,
ढोलक बाजय, सखी सभ नाचय,
माइ–धरती केर माटी लए,
घरवा लौटय सगरो टोली ।”


