विश्वप्रकाश भन्छन्- नियमित महाधिवेशन सम्भव छ

हिमाल प्रेस ८ मंसिर २०८२ १५:५२ | Monday, November 24, 2025
20
SHARES
विश्वप्रकाश भन्छन्- नियमित महाधिवेशन सम्भव छ फाइल तस्बिर।

काठमाडौँ-  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशन सम्भव भएको बताउँदै दुई विकल्प अघि सारेका छन्। इलाम सदरमुकाममा जेनजी प्रदर्शनका क्रममा आगजनी गरिएको कांग्रेस जिल्ला कार्यालय अवलोकन पश्चात् पार्टीका नेताकार्यकर्ताको जिज्ञासामा महामन्त्री शर्माले महाधिवेशन सम्भव भएको बताउँदै विकल्पहरू अघि सारेका हुन्।

‘समय घर्किंदै गयो, अब नियमित महाधिवेशन सम्भव हुन्छ? तपाईं साथीहरूको जिज्ञासामा– म प्रष्ट छु, सबै एक्यबद्ध भएर जुटौँ, महाधिवेशन सम्भव छ, विकल्प दुईवटा छन्।’ महामन्त्री शर्माले पहिलो विकल्पको रूपमा पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्नेगरी अबको बैठकबाट कार्यतालिका निर्माण गर्नुपर्ने बताए।

‘महाधिवेशन तयारी क्रममा केहिदिन समय नपुग्नसक्ने अवस्था देखिए, थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्ने,’ महामन्त्री शर्माले भने, ‘समानुपातिकको सुची बुझाउने मिति या फागुन २१ कै चुनाव पनि केही पछि सर्न सक्छ। शान्तिपूर्ण वातावरण बन्नुपर्ने आवश्यकता र हिमाली क्षेत्रको मौसमी प्रतिकुलता दृस्टिगत गरेर थोरै पछि सर्नसक्ने सम्भावनालाई राजनैतिक सहमति मार्फत हल खोज्नु उत्तम।’

महामन्त्री शर्माले दोस्रो विकल्पको रूपमा सभापति शेरबहादुर देउवाले बाटो खुला गर्दा निकास निस्कने बताए। ‘पार्टीका आदरणीय सभापतिज्यूले देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर (सुवर्ण शमशेरपथ) पछ्याउन सक्नुहुन्छ, भन्ने मलाई लाग्छ,’ महामन्त्री शर्माले भने, ‘त्यो भनेको ०१४ सालमा झैँ स्वयं सभापतिले मार्गप्रशस्त गर्ने। त्यसले एकातर्फ पार्टीले निकास प्राप्त गर्छ, अर्कोतर्फ उहाँको सम्मान र अभिभावकत्वको भूमिकाले उचाई पाउनेछ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान सक्दैन। (तब ०८२ मंसिर मसान्तमा विशेष महाधिवेशन, ०८३ मंसिरमा नियमित महाधिवेशन गर्न सकिनेछ)।’

यता अर्का महामन्त्री गगनकुमार थापाले भने अब पार्टीको विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन्। उनले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्,‘अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ।’

प्रकाशित: ८ मंसिर २०८२ १५:५२ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast