ललितकला प्रतिष्ठानमा हिमाली संस्कृति झल्किने ‘ट्रेसिङ दि हिमालय’ प्रदर्शनी

हिमाल प्रेस ६ मंसिर २०८२ १२:३३
4
SHARES
ललितकला प्रतिष्ठानमा हिमाली संस्कृति झल्किने ‘ट्रेसिङ दि हिमालय’ प्रदर्शनी

काठमाडौँ- नक्सालस्थित नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा ‘ट्रेसिङ दि हिमालय’ कला प्रदर्शनी सुरु भएको छ। शुक्रबार सुरु भएको प्रदर्शनी प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरेका हुन्।

प्रदर्शनीको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति हार्तम्छालीले नेपालीपनको कला खोज्न लोकपरम्परामा नेपाली जन्मभूमिबाट उठेका सिद्धान्त र दर्शनका अवधारणामा बनेका कलाकृतिलाई खोज्नुपर्ने बताए।

चार जना गतिशील युवाले प्रदर्शन गरेको कलामा हिमाली लोकसंस्कृति तथा नेपालीपन झल्केको उनले उल्लेख गरे। उनले भने, ‘प्रदर्शनी मा हिमवत्खण्डका इथ्नोकग्निटिभ ज्ञानअनुरूप सिर्जित कला, सिर्जना तथा आफ्नो जन्मभूमिको नितान्त दर्शनका आधारमा बनेका स्वः कला राखिएको छ। हिमाली कला संस्कृति ओझेलमा परेको बेला यो प्रदर्शनी नमूना बन्न पुग्ने विश्वास लिएका छौँ।’

प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले हिमाली जनजीवनका अभ्यासमा रहेको परम्परागत ज्ञान प्रणालीमा आधारित कला सिर्जनाले हाम्रो मौलिक पहिचान जोडेको धारणा राखे। यसको संरक्षण तथा प्रवर्द्धनका लागि विद्यालय, कलेजका पाठ्यक्रममा पनि समावेश गरिनुपर्नेमा उनको जोड थियो।

चोसर आर्ट्स मुस्ताङका निर्देशक छिरिङ फोन्जो गुरुङले काठमाडौँमा भइरहेको प्रदर्शनीमा हिमाली भेगका कलासंस्कृति समावेश गरिएको बताए। उनले हिमाली भेगका कलासंस्कृति कम देखिँदा सबैको नजर नपुगेको भन्दै सबैको ध्यान हिमाली कलामा जाओस् भन्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको जानकारी दिए।

प्रदर्शनीमा हिमाली भेगका मानिसहरूकाे जनजीवन, आध्यात्मिक अभ्यास तथा उनीहरूकाे संघर्ष चित्रण गरिएको छ। साथै मुगु, डोल्पा, सिन्धुपाल्चोक र मुस्ताङका मानिसहरूकाे दैनिकी, उनीहरूकाे संघर्ष र समसामयिक पक्षलाई चित्रमार्फत प्रस्तुत गरिएको छ।

प्रदर्शनीमा हिमाली क्षेत्रलाई प्रतिनिधित्व गर्ने कलाकारहरूको कलाकृति छन्, जसमा छिरिङ फोन्जो गुरुङ (मुस्ताङ) का २०, तेन्जिङ आङ्डाक गुरुङ (डोल्पा) का १७, धोर्जे गुरुङ लामा (मुगु) का १८ र पेम्बा शेर्पा (सिन्धुपाल्चोक) का नौ कलाकृति गरी  ६४ कलाकृति रहेकाे प्रतिष्ठानले जनाएको छ।

विशेषगरी प्रदर्शनीमा ल्यान्डस्केप र थांका चित्र राखिएको छ। प्रदर्शनी यही मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनी प्रतिष्ठानको सहकार्य तथा चोसर आर्टस् मुस्ताङको आयोजनामा सञ्चालन गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast