जनकपुरधाम- मधेश प्रदेशमा सामुदायिक विद्यालय र शिक्षकको संख्या वृद्धि भए पनि विद्यार्थीको संख्यामा भने घटिरहेको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको असार मसान्तसम्मको तथ्यांकअनुसार मधेश प्रदेशमा ०.९२ प्रतिशतले विद्यालयको संख्यामा वृद्धि भएको छ भने ६.५९ प्रतिशतले शिक्षक-शिक्षिकाको संख्यामा वृद्धि भएको छ। तर विद्यार्थीको संख्या भने ५.६४ प्रतिशतका दरले घटदै गएको तथ्यांकले देखाएको हो।
प्रतिवेदनअनुसार मधेशमा सामुदायिक विद्यालयको संख्या वृद्धि भएर ३ हजार ४ सय ११ पुगेको छ। सामुदायिक विद्यालयमा पढाउने शिक्षक-शिक्षिकाको संख्या २० हजार ५ सय ८ बढेकोमा विद्यार्थी संख्या मात्र १३ लाख ५७ हजार १ सय १४ पुगेको हो।
राष्ट्र बैँकको प्रतिवेदन अनुसार मधेशमा संस्थागत विद्यालयको संख्यामा १.३१ प्रतिशतले कमी आएर १ हजार २ सय ८४ कायम भएको छ। त्यहाँ पढाउने शिक्षक-शिक्षिकाको संख्या ०.२० प्रतिशतले कमी भई ११ हजार ८ सय ९२ पुगेको छ।
संस्थागत विद्यालयमा विद्यार्थीको संख्या भने १४.३२ प्रतिशतले बढेर ४ लाख ८३ हजार ७ सय ५२ पुगेको छ।
यस्तै प्राविधिक शिक्षालयअन्तर्गत शिक्षालय संख्यामा ०.८८ प्रतिशतले कमी आई १ सय १३ पुगेको हो भने विद्यार्थी संख्या ५.४१ प्रतिशतले वृद्धि भई ९ हजार ९ सय ६८ पुगेको छ। प्राविधिक शिक्षालयमा पढाउने शिक्षक–शिक्षिकाको संख्या १५.७९ प्रतिशतले वृद्धि भइ ४ सय ८४ पुगेको तथ्यांकमा उल्लेख छ।


