पोखरा- राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक विवाद चुलिँदै जाँदा एउटै मञ्चबाट अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणा आरोप प्रत्यारोपमा उत्रिएका छन्। सोमबार राप्रपा पोखरा महानगरको नगर अधिवेशन उद्घाटनमा उनीहरु दुवै जना उद्घाटन समारोहमा उपस्थित थिए।
पार्टी अध्यक्ष र महामन्त्रीले आपसमा छेडखानी गरिरहँदा आपसमा बाँडिएका कार्यकर्ताहरू पनि मन परेको नेताको पक्षमा ताली बजाउँथे। पार्टी अध्यक्ष लिङ्देनले उनै राणालाई लक्षित गर्दै कसैलाई चित्त नबुझे महाधिवेशनसम्म पर्खिन आग्रह गरे।
कार्यक्रममा अध्यक्ष लिङ्देनले आफ्नोतर्फबाट पार्टीलाई अघि बढाउन त्यस्तो गल्ती कमजोरी नगरेको दाबी गरे। यदि गरेको भए आगामी दिनमा सच्चाएर जान सकिने उनले उल्लेख गरे। ‘सबै कुरा पार्टी कमिटीमा बसेर छलफल गर्नुपर्छ,’ महामन्त्री राणाप्रति लक्षित गर्दै उनले भने, ‘पार्टी अध्यक्षले ल्याएको प्रस्ताव कि त मान्नुपर्यो कि मत विभाजन हुन्छ। साह्रै चित्त बुझेको छैन भने महाधिवेशन आउँदैछ।’
त्यसअघि मन्तव्यका क्रममा महामन्त्री राणाले पार्टी नेतृत्व कमजोरीका कारण आगामी चुनावमा एक सिट पनि नआउने आरोप लगाएका थिए। तर अध्यक्ष लिङ्देनले उनको कुरालाई ठाडै इन्कार गर्दै भने, ‘राप्रपाले कसरी जित्छ हैन, राप्रपा नेपालको पहिलो पार्टी बन्छ।’
आक्रोशित सुनिएका उनले अगाडि भने, ‘विगतमा हामीले भनेजस्तो सिट आएन होला, हामीले तलमाथि रणनीति गर्यौँ होला, त्यसबाट सच्चिएर अब फेरि चुनावमा जान्छौं। नेपालको राजनीतिमा हामीले गरेको भविष्यवाणि के चाहिँ फरक पर्यो? नेताहरूले हेलिकोप्टर चढेर भाग्नुपर्छ भन्ने दिन आउँछ भन्दा कले पत्याउँथ्यो र? आयो त।’
लिङ्देनले आगामी २१ फागुनको प्रतिनिधि सभा सदस्य चुनावअघि राजावादी, राष्ट्रवादी शक्ति र अन्य दलहरू मिलाएर सर्वपक्षीय सहमति गर्नुपर्नेमा जोड दिए। उनले राजतन्त्र अहिलेको प्रमुख आवश्यकता रहेको दाबी गरे। उनले भने, ‘हामीले ल्याउने राजतन्त्र राप्रपाको मात्र होइन, सम्पूर्ण देशको हितका लागि हो। समयअनुसार हिँड्न सक्नुपर्छ।’
उनले अहिलेको संविधान फेल भइसकेको पनि दाबी गरे। कुनै न कुनै रूपमा देशमा मिँयो चाहिन्छ भन्ने कुरा जेनजी आन्दोलनको क्रममा देखिएको बताए। उनले सिंहदरबार जलिरहँदा एक किमी नजिकसम्म पनि दकमल जान नसक्नुले हामीले कस्तो व्यवस्था ल्याएका रैछौं भन्ने प्रस्ट देखिएको बताए।
महामन्त्री राणाले जेनजी आन्दोलनको ४ दिनअघि पार्टीको लमजुङको कार्यक्रममा अब संघ र प्रदेश सरकारमा बसेकाहरु सरकार छोडेर आन्दोलन जानुपर्ने आफूले उद्घोष गरेकोमा नभन्दै जेनजी आन्दोलनपछि सरकार छोड्ने दिन आएको उल्लेख गरे। उनले नेतृत्व असक्षमताको आरोप लगाउँदै यही अवस्थामा चुनावमा गए पार्टीले हार व्यहोर्ने दाबी गरे। उनले हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा दुर्गा प्रसाईंसमेतको पक्षहरूलाई समर्थन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा पार्टी उपाध्यक्ष हेमजंग गुरुङ, पार्टी केन्द्रीय सदस्य एवं प्रशिक्षण विभाग कार्यकारिणी अध्यक्ष खुश्बु ओली, राप्रपा गण्डकी अध्यक्ष एवं पूर्व मन्त्री पञ्चराम गुरुङ, केन्द्रीय सदस्य डा. महेन्द्रबहादुर कार्की, राप्रपा नेता एवं धार्मिक व्यक्तित्व शंकर खराल, केन्द्रीय सदस्य युवा नेता अर्जुन खनाल, राप्रपा गण्डकी सचिव बरुणविक्रम राणा, पार्टीका कास्की अध्यक्ष नारायण गुरुङ, तनहुँ अध्यक्ष विनोद घर्ती, वडा अध्यक्षतर्फबाट तोत्रबहादुर बानियाँ, भातृसंगठनतर्फबाट गणेशबहादुर पौडेल लगायतले हिन्दुवादी, राजावादी र राष्ट्रवादी शक्तिको बेवास्ता गरी अघि बढे फेरि मुलुकमा अस्थिरता हुने चेतावनी दिँदै पुनः एकपल्ट आन्दोलनमा जानुको विकल्प नभएको बताए।
ज्येष्ठ सदस्य निर्मलप्रसाद गौतमको अध्यक्षतामा भएको अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित गर्ने राप्रपा केन्द्रीय सदस्य अरुण गिरीले बताए।


