आजदेखि पूर्णरूपमा सञ्चालनमा आयो सर्वोच्च अदालत

हिमाल प्रेस १ मंसिर २०८२ १५:०९
6
SHARES
आजदेखि पूर्णरूपमा सञ्चालनमा आयो सर्वोच्च अदालत सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालत आज (सोमबार) देखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। गत भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आंशिक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन भएको हो।

सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुंगामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मंसिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

‘मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेकाले पेसी तारेखको मिति आउन बाँकी रहेका ती मुद्दाको मङ्सिर १ गतेदेखि पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ’, पूर्ण बैठकले भनेको थियो, ‘अन्य पेसी नचढेका मुद्दाहरूको कानुनबमोजिम अ‌ंग पुर्‍याई सुनुवाइ गरिने बेहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकार भएकाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

अवरुद्ध भएका सेवा सुरु हुनुका साथै मुद्दा, पुनरावेदनपत्र, दोहोर्‍याई पाउको निवदेन तथा पुनरावलोकन निवेदनका सबै मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ आजदेखि सुरु भएको सर्वोच्च अदालतले जनाएको छ।

जेनजी आन्दोलनका कारण अदालतको भौतिक संरचना पूर्ण रूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए। अदालतको सूचना प्रविधि शाखाले सूचना प्रणालीको ‘रिकभर’ (पुनःप्राप्त) गरेको छ।

प्रकाशित: १ मंसिर २०८२ १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast