बंगलादेशमा सुरक्षा व्यवस्था कडा, हसिनाको मुद्दामा फैसला सुनाइँदै

हिमाल प्रेस १ मंसिर २०८२ १४:१४ | Monday, November 17, 2025
10
SHARES
बंगलादेशमा सुरक्षा व्यवस्था कडा, हसिनाको मुद्दामा फैसला सुनाइँदै सेख हसिना : फाइल तस्बिर

ढाका- पदच्युत प्रधानमन्त्री सेख हसिनाविरुद्धको अपेक्षित फैसलाअघि बंगलादेशको अन्तरिम सरकारले राजधानी ढाकासहित अन्य क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ। हसिनामाथि गत वर्षको विद्यार्थी नेतृत्वको विद्रोहका क्रममा सयौँ मानिसको हत्या गरेको आरोप छ। उक्त घटनापछि उनको १५ वर्षको शासन अन्त्य भएको थियो। उनीविरुद्ध मानवताविरुद्धका अपराधको मुद्दामा सोमबार फैसला सुनाइने अपेक्षा गरिएको छ।

अर्धसैनिक सीमा सुरक्षा बल र प्रहरीले ढाका तथा देशका धेरै क्षेत्रमा सुरक्षा बल बढाएर परिचालन गरेका छन्। हसिनाको आवामी लिग पार्टीले उक्त फैसलाविरुद्ध देशव्यापी बन्दको आह्वान गर्दै विशेष अदालतलाई ‘कंगारु कोर्ट’ भनेर आरोप लगाएको छ।

अभियोजन पक्षले भारतमा निर्वासित हसिनासहित पूर्वगृहमन्त्री (जो सम्भवतः भारतमै छन्) लाई मृत्युदण्ड मागेको छ। एक पूर्व प्रहरी प्रमुखका लागि भने कुनै सजाय सिफारिस गरिएको छैन। तीनैजनाको फैसला सोमबार आउने अपेक्षा गरिएको छ।

हसिना र पूर्व गृहमन्त्री असदुज्जामान खानमाथि २०२४ को जुलाई-अगस्टमा भएको विद्यार्थी नेतृत्वको विद्रोहका क्रममा सयौँ मानिसको हत्या गरेको आरोप छ। संयुक्त राष्ट्रसंघले फेब्रुअरीमा प्रकाशन गरेको प्रतिवेदनमा मृतकको संख्या १,४०० सम्म हुन सक्ने उल्लेख थियो भने अन्तरिम सरकारका स्वास्थ्य सल्लाहकारले ८०० भन्दा बढीको मृत्यु र करिब १४ हजार मानिस घाइते भएको बताएका छन्।

गत साता हसिनाको पार्टीले गरेको ‘लकडाउन’ आह्वानपछि देशभरि बम विस्फोट र आगजनीका घटनाहरू बढेका थिए। केही दिन विद्यालय र यातायात सेवा अवरुद्ध बनायो।
भारतमा निर्वासनमा रहेकी हसिनाले अडियो सन्देशमार्फत आफ्ना समर्थकलाई फैसलाबारे आतंकित नहुन आग्रह गरिन्। १९८१ देखिको आफ्नो लामो राजनीतिक यात्रामा हसिनाले कम्तीमा १९ पटक हत्या प्रयासबाट ज्यान जोगाइसकेकी छन्।

ढाकाका प्रहरी प्रमुख शेख मोहम्मद सज्जात अलीले यदि कसैले सवारीसाधनमा आगजनी गर्न वा कच्चा बम फ्याँक्न खोजेमा देख्नेबित्तिकै गोली हान्ने आदेश जारी गरेका छन्। एएफपी/रासस

प्रकाशित: १ मंसिर २०८२ १४:१४ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast