विराटनगर महानगरको टेन्टमै त्रैमासिक समीक्षा

हिमाल प्रेस ३० कार्तिक २०८२ १९:२७ | Sunday, November 16, 2025
10
SHARES
विराटनगर महानगरको टेन्टमै त्रैमासिक समीक्षा

इटहरी- जेनजी आन्दोलनपछि भौतिक संरचनामा परेको क्षतिका कारण विराटनगर महानगरपालिका ‘अस्थायी प्रशासन’ मोडमा चलिरहेको छ। नियमित सेवा तथा प्रशासनिक बैठक-कार्यक्रम सञ्चालनका लागि भवन अभाव झेलिरहेको महानगरले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी समेत टेन्टभित्रै गरेको छ।

महानगरको मुख्य प्रशासनिक भवनसहित वडा १–१२ र १९ का कार्यालयमा आगजनी र तोडफोड भएपछि अधिकांश कोठा प्रयोगविहीन बनेका छन्। स्थायी विकल्प नपाएपछि महानगरले खुला स्थानमा टेन्टबाट अस्थायी बैठकस्थल तयार गरेको छ। मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की तथा प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालसहितका अधिकारीहरू टेन्टमै बसेर त्रैमासिक कार्यप्रगति सुनेका हुन्।

महानगरका विभिन्न शाखा–महाशाखा प्रमुखहरू, फाइल र अभिलेख व्यवस्थापनदेखि वैठक सञ्चालनसम्म सबै काम अस्थायी संरचनाबाट भइरहेका छन्।

त्रैमासिक समीक्षामा राजस्व संकलनदेखि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनसम्बन्धी कामको विवरण प्रस्तुत गरियो। समीक्षा अवधिमा ११ करोड ९८ लाख २७ हजार ७७९ रुपैयाँ आन्तरिक राजस्व संकलन गरएको छ। यस अवधिमा ३५ वटा व्यवसाय दर्ता हुँदा ३५ वटा खारेज भएका छन् । यस अवधिमा ३ हजार ५५ वटा व्यवसाय नवीकरण गरेको राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए। प्रत्येक शाखा–महाशाखाका प्रमुखहरूले आफ्ना–आफ्ना क्षेत्रमा भएको प्रगति प्रस्तुत गरेका थिए।

भवन क्षतिग्रस्त भएकाले सामान्य सेवाप्रवाह, बैठक, अभिलेख व्यवस्थापन, दर्ता–नवीकरण, वित्तीय प्रक्रिया आदि सबै अस्थायी रुपमा चलिरहेका छन्।स्थान अभावकै कारण महानगरले समीक्षा गोष्ठी टेन्टभित्र आयोजना गरेको जनाइएको छ ।

प्रकाशित: ३० कार्तिक २०८२ १९:२७ | Sunday, November 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast