वाम दलमा चुनाव लक्षित एकता, पाका नेताको फेरि सत्तामा पुग्ने दाउ

हिमाल प्रेस २९ कार्तिक २०८२ २१:३१
28
SHARES
वाम दलमा चुनाव लक्षित एकता, पाका नेताको फेरि सत्तामा पुग्ने दाउ

काठमाडौँ- जेनजी आन्दोलनपछिको राजनीतिका परिस्थिति र आमनिर्वाचन घोषणा भएपछि राजनीतिक दलभित्र विभाजन र एकताको लहर चलेको छ। विभाजन र एकताका शृंखला पुराना राजनीतिक दलमा नभई पछिल्लो समय वैकल्पिक शक्तिका रूपमा उदाएका दलहरूमा दोहोरिएको छ।

त्यति मात्रै होइन, भ्रष्टाचार र बेथिति अन्त्यलगायतका मुद्दा सारेर आन्दोलनमा होमिएका जेनजीका प्रतिनिधिबीच पनि कतिपय विषयमा मतैक्य छैन। शासकीय स्वरुप, संविधान संशोधन, निर्वाचन प्रणालीलगायतका विषयमा उनीहरूबीच फरक मत देखिएको हो।

दलहरूबीचमा वैचारिक दृष्टिकोणभन्दा पनि तत्कालको परिस्थितिबाट फाइदा लिने अभिप्रायका साथ विभाजन र एकताका घटनाक्रम देखिएको विश्लेषकको भनाइ छ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति र जनमत पार्टीबाट केही नेताहरू अलग्गिएर पार्टी तथा नयाँ राजनीतिक शक्ति निर्माणमा जुटेका छन्। माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीलगायत विभिन्न १० राजनीतिक दल र राष्ट्रिय राजनीतिमा चर्चामा रहेका केही नेता मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भइसकेको छ। विभाजन र एकताको शृंखलामा विगतमा झैँ यसपटक पनि वामपन्थी विचारधाराका दलहरू अग्रस्थानमा छन्।

एकता सत्ता र चुनाव केन्द्रित देखिएको बुझाइ विश्लेषकहरूको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायतका पाका नेताहरू भने एकताको बलमा चुनाव जितेर फेरि सत्तामा पुग्ने दाउमा छन्। उमेरले सात दशक नाघेका यी नेता पटकपटक जनताबाट परीक्षण भइसकेका छन्। यद्यपि उनीहरूमा कुर्सीको मोह भने घटेको देखिँदैन। सोही कारण अनेक दललाई मिलाएर पार्टीको शीर्ष तहमा अस्तित्व बचाइरहेका उनीहरूका लागि जेनजी आन्दोलनपछिका परिघटना त्यति सुखद देखिँदैन।

सुशासन र नागरिकका पक्षमा काम गर्न चुकिसकेका नेताहरूको एकताले केही समय उनीहरू पार्टीको उपल्लो तहमा रहे पनि निर्वाचनबाट फेरि संसद्मा फर्कन उनीहरूलाई सजिलो नभएको बुझाइ विश्लेषकहरूको छ।

चुनावका बेला मिल्ने, एकअर्काको प्रशंसा गरेर नथाक्ने, चुनावपछि पदीय भागबन्डा गर्नुपर्दा विभाजन हुने र एउटाले अर्काको उछित्तो काट्ने नेपाली कम्युनिस्ट पार्टीहरूको विशेषता नै हो। विगतमा प्रचण्डको कट्टर आलोचक मानिने भीम रावल अहिले उनीसँगै कुम जोड्न पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सार्वजनिक मञ्चबाटै आलोचना गरेर चर्चा कमाएकी रामकुमारी झाँक्री उनै ओलीको गुणागानमा व्यस्त हुन थालेकी छन्। पाका नेताहरूले आफ्नो अस्तित्व जोगाउन एकजुट भए पनि झाँक्रीजस्ता नेताहरूको गतिविधिले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै गिज्याइरहेको विश्लेषकहरू बताउँछन्।

वरिष्ठ अधिवक्ता रामनारायण बिडारी नेताहरूका यस्तो प्रवृत्तिलाई निर्वाचन लक्षित गतिविधिका रूपमा हेर्छन्। ‘निर्वाचन घोषणा भएको हुनाले परिणाम आफ्नो पक्षमा पार्न दलहरू जुट्ने र विभाजन हुने यो निर्वाचन लक्षित कार्यक्रम मात्रै हो। यो असैद्धान्तिक छ, सिद्धान्त, विचार र दृष्टिकोणमा एकता देखिन्न,’ उनले भने।

यसलाई सबै दलमा बढिरहेको असन्तुष्टि तथा जेनजी आन्दोलनपछि नेताहरूमा देखिएको विचलित र त्रसित मानसिकताको उपजका रुपमा हेरिनुपर्ने उनको मत छ।

पछिल्लो समय राजनीतिक दल पुनः गठन गर्ने भन्दै आफ्नो दल त्यागेका नेताहरू फेरि नयाँ दल सिर्जना गर्ने अभियानमा विभिन्न कोणबाट छलफलमा जुटेका देखिन्छन्। सो क्रममा माओवादीबाट अलग्गिएर प्रगतिशील राष्ट्रिय अभियान सञ्चालन गरेका नेता सुदन किराँती, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक दुर्गा सोब र रास्वपा छाडेका नेता सन्तोष परियारबीच आगामी मंसिर पहिलो साता पार्टी एकता घोषणा गर्ने सहमति भइसकेको छ।

साथै जेनजीका अगुवामध्येका एक मिराज ढुंगानाले पार्टी गठन गर्ने भन्दै पत्रकार सम्मेलन आयोजना गरिसकेका छन्। यद्यपि उनी निर्वाचन आफूहरूको माग र प्राथमिकता नभएको उल्लेख गर्दै विकास र सुशासन पहिलो सर्त भएको बताउँछन्।

अधिकारकर्मी डा. राधा पौडेललाई भने राजनीतिक दलमा देखिएको फुट र जुट ‘रमिता’ जस्तो लागेको छ। ‘जेनजी विद्रोह र भोलिपल्टको घटनाभित्र लुकेका अन्तरनिहित कारण र आयामलाई जोड्नुपर्नेमा यसमा राजनीतिक दल चुके,’ उनी भन्छिन्, ‘त्यो कार्यभारप्रति ध्यान नदिएर दलमा एकता र विभाजन देखिएको छ। यसले हामीलाई कहीँ पनि पुर्‍याउँदैन।’

दलहरूमा आन्तरिक लोकतन्त्र कमजोर भएको र उनीहरूले आशा दिलाउन नसक्दा आफैँमा टुटफुटको अवस्थामा पुगेको उनको भनाइ छ। मुलुकमा देखिएको बेथितिको कारणबारे एकरुपता नदेखिँदा ‘बिरामी एउटा छ, उपचार अर्को’ जस्तो भइरहेको पौडेलको टिप्पणी छ।

नेपाली कम्युनिस्ट पार्टीको सचिवालमा रहेका पाँचौँ वरीयतासम्मका नेताहरू क्रमशः प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ ‘टेस्टेड’ हुन्। प्रचण्ड पटकपटक प्रधानमन्त्री भइसकेका छन्। नेपाल र खनालले पनि सिंहदरबारमा पूर्वप्रधानमन्त्रीको तस्बिर टाँसिसकेका छन्।

चुनाव हारेर पनि प्रधानमन्त्री भएका नेपालले त २०६६/६७ मा बदनाम कमाइसकेका छन्। उपप्रधानमन्त्री भइसकेका गौतमले पनि ५० को दशकमै एमाले फुटाएर विवादित भएका थिए। श्रेष्ठलाई पनि सत्तामा पुग्न अहिलेसम्म चुनाव जित्नै परेको छैन। तत्कालीन विद्रोही माओवादी शान्तिप्रक्रियामा आएपछि प्रचण्डसँग एकता गरेका श्रेष्ठ पदकै लागि अहिलेसम्म प्रचण्डको दायाँबायाँ गरिरहेका छन्।

पाको उमेर, फितलो कार्यशैली, दूरदृष्टिको अभाव रहेका यी नेताहरूका पछिल्ला गतिविधिले चुनाव जितेर सत्तामा जाने खेलो मात्रै रहेको बुझाइ विश्लेषकहरूको छ।

प्रकाशित: २९ कार्तिक २०८२ २१:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast