मधेशमा सात दलको प्रदर्शन, भुइँमै बसेर प्रदेशसभा बैठक सञ्चालन

हिमाल प्रेस २९ कार्तिक २०८२ १६:०४
8
SHARES
मधेशमा सात दलको प्रदर्शन, भुइँमै बसेर प्रदेशसभा बैठक सञ्चालन

काठमाडौँ- मधेशमा सातदलीय गठबन्धनले शनिबार पनि प्रदर्शन गरेको छ। मुख्यमन्त्रीको नियुक्ति र पाँच प्रदेश सांसदलाई कारबाही गरेको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन्।

गठबन्धनमा आवद्ध सात दलका नेता तथा कार्यकर्ताहरूले प्रदेशसभा भवन घेराउ गरेर प्रदर्शन गरेका छन्।

सातदलीय गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताहरूले प्रदेशसभा भवन घेराउ गरेका हुन्।

मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक र सभामुख रामचन्द्र मण्डलले कानुनविपरित पाँच जना सांसदलाई कारबाही गरेको सातदलीय गठबन्धनको दाबी छ।

विश्वासको मत पाउन नसक्ने भएपछि तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामापछि नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि मधेश प्रदेशमा राजनीतिक अस्थिरता उत्पन्न भएको हो।

त्यस्तै सभामुख मण्डलले ‘पद अनुकूलको आचरण नदेखाएको’ भन्दै पदमुक्त गर्ने प्रस्ताव लिएर प्रदेशसभा सचिवालय पुगेपछि थप टकराव बढेको छ। सभामुख मण्डलले प्रस्ताव दर्ता नभएको बताएका छन् भने सातदलीय गठबन्धनले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको दाबी गरेका छन्।

आफूलाई पदमुक्त गर्ने प्रस्ताव लिएर सातदलीय गठबन्धन प्रदेशसभा सचिवालय पुगेकै दिन सभामुख मण्डलले लगातार दश दिन प्रदेशसभा बैठकमा अनुपस्थित भएका पाँच प्रदेशसभालाई कारबाही गरेका थिए। जसपा नेपालका चार र नाउपाकी एक जना पदमुक्त भएको सूचना प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ।

यसैबीच सभामुख मण्डलले पाँच जना प्रदेश सांसदलाई कारबाही गरेको विरोधमा सातदलीय गठबन्धनले शनिबार प्रदेशसभा परिसरमै प्रदेशसभा बैठक सञ्चालन गरेका छन्।

उपसभामुख बबिताकुमारी राउत ईशरले अध्यक्षताको गरेको बैठकमा प्रदेशसभा सांसदहरू भुइँमै बसेर सहभागी भएका थिए।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विवाद बढेको हो। १६८ (२) को विकल्प छँदाछँदै भण्डारीले असंवैधानिक तरिकाबाट यादवलाई मुख्यमन्त्री नियुक्त गरेको सातदलीय गठबन्धनको आरोप छ। मुख्यमन्त्री यादवलाई बर्दिवासको होटलमा सपथग्रहण गराएकी तत्कालीन प्रदेश प्रमुख भण्डारी पदमुक्त भइसकेकी छन्।

प्रकाशित: २९ कार्तिक २०८२ १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast