काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) का निवर्तमान अध्यक्ष विष्णुप्रसाद भण्डारीले तत्कालीन केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार घुसपैठ गरेर ढाल्ने उद्देश्यले शिक्षक आन्दोलनलाई लम्ब्याउने प्रयास भए पनि विफल भएको बताएका छन्। शुक्रबार एमाले अध्यक्ष ओलीको उपस्थितिमा आयोजित विद्वत वर्गसँगको संवाद कार्यक्रममा भण्डारीले यस्तो बताएका हुन्। नेपाल राष्ट्रिय शिक्षक संगठन नेकपा एमाले निकट संगठन हो।
उनले भने,‘शिक्षक आन्दोलनमा पनि जेनजी आन्दोलनमाजस्तै घुसपैठ गराउन खोजिएको हामीले महसुस गरेका थियौं।’ उनका अनुसार सरकारले माग पूरा गरिदिएको भए २९ दिन लामो आन्दोलन हुँदैन थियो।
शिक्षकको हकहितभन्दा बाहिर बोल्दिनँ भन्दै भण्डारीले आन्दोलनलाई राजनीतिक प्रयोजनका लागि प्रयोग गर्न खोजिएको आरोप दोहोर्याए।
‘सरकारले माग पूरा गरिदिएको भए आन्दोलन २९ दिनसम्म तानिनु पर्ने थिएन,’ भण्डारीले भने। भण्डारीले नेकपा एमालेले हाल संसद् पुनर्स्थापनाको मुद्दा उठाइरहेको उल्लेख गर्दै नेपाली कांग्रेसले त्यस्तो पहल नगरेकोमा प्रश्न उठाए। ‘नेकपा एमालेले संसद् पुनर्स्थापनाको कुरा ल्याइरहेको छ। नेपाली कांग्रेसले किन ल्याएन? ल्याएको भए सजिलो हुन्थ्यो,’ उनले भने।
उनले गिरिजाप्रसाद कोइरालाको पालामा नेपाली कांग्रेसले संसद् पुनर्स्थापनाको मुद्दा अघि सारेको प्रसंग पनि स्मरण गरे। ‘त्यो बेला गिरिजाबाबुले संसद् पुनर्स्थापनाको कुरा उठाउनुभयो, अहिले कांग्रेसले पनि त्यस्तो कुरा ल्याएको भए सहज हुने थियो,’ भण्डारीले भने।



