फेरि भेट होला या नहोला
आज अकस्मात भेट भएको दिन छ
तिमी कता हरायौ ?
म कता हराएँ ?
हराउनुको आ आफ्नै कथा होला
सक्छौ, आउ अंकमाल गर
जिन्दगी जिउने कसरी ?
जिन्दगीकै गीत गाउन सिक्नपर्छ ।
तिम्रो मेरो यात्राको बाटो फरक भयो होला
तिमी पश्चिम लाग्दा
म पूर्व लागें होला
तिमी पूर्व लाग्दा
म पश्चिम लागे होला
फरक यति हो
तिमी दृष्टिविहीन जस्तो हात्ती छामि बस्यौ
म हात्ती पार गरेर अगाडि बढें
तिमी यथास्थितिमा रह्यौ
मैले परिवर्तन खोजें ।
दुःख कुन चराको नाम हो ?
तिमीलाई थाहै भएन
म त दुःख पिएर आँसुमा बाँचे
मेरी आमा हरेक छाक रुन्थिन
अनिकालले गिज्याए पछि
मेरा बा पटक, पटक मर्ने गर्थे
जिम्दारको ऋण चुक्त्याउन नसके पछि ।
केटाकेटीको रहर न हो
तिम्रो जस्तै लुगाको कुरा गर्दै झगडा गर्थे
तिम्रो जस्तै जुत्ताको कुरा गर्दै झगडा गर्थे
मेरा बा आमा
मेरा माग सुनेर अवाक बन्थे
मेरो माग पूरा गर्न नसकी तरक्क आँसु झार्दै
मलाई फुस्रो आश्वासन दिएर
लामो सुस्केरा हाल्थे ।
तिमी खेली बस्थ्यौ
म बाख्रा चराइ बस्थे
तिमी किताब बोकी पढ्न गएको देख्दा
मलाई लाग्थ्यो
म पनि पढेर ठूलो मान्छे बनुँला
सायद, अकल्पनीय सपना रहेछ
मेरो इच्छा विपनै थियो भनुँ कसरी ?
तिमी ठूलो जातको मान्छे रे
म सानो जातको मान्छे रे
के मान्छेको जात पनि सानो ठुलो हुन्छ र ?
यो नियम कस्ले चलायो ?
यो बेथिति कस्ले रोक्ने ?
तिमी पढेर पनि लाज शरम पचाउँछौ किन ?
के पढ्यौ ?
के बुझ्यौ ?
समाज परिवर्तन नगर्ने भए ।
आँखाका पर्दाहरु उघार
संसारको उज्यालो हेर्नलाई
तिमी व्यर्थै चाउरिन्छौ किन ?
संसार परिवर्तनशील छ
तिमीले परिवर्तन हुन सिकेनौ भने
पश्चातापमा जल्नुपर्ने छ ।
चुँडालिदेउ तिम्रा दासताका जञ्जिरहरु
आउ, हाते माले गरौ
न्याय र समानता खोज्नु छ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ



