काठमाडौँ- एक पुस्ताले क्यासेटको झिल्के आवरण च्यातेर गीत सुन्ने समय सम्झिन्छ। त्यो समयमा धेरै युवाको भावनामा टाँसिएको एउटा गीत थियो- ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’। सन् २००० तिर ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ बोलको गीतमार्फत् नेपाली दर्शकमाझ चिनिएका सर्जक तथा गायक प्रकाश पौडेलको परिचय अहिले फेरिएको छ।
यतिबेला उनी गुरु डा. प्रकाश पौडेलका रूपमा परिचित छन्, प्रवासमा। यूएईको राजधानी अबुधाबीलाई कर्मथलो बनाएका डा. प्रकाशले ज्योतिष शास्त्रमा विद्यावारिधी (पीएचडी) गरेका छन्।
‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ गीतमार्फत् पहिचान बनाएका गायक प्रकाश लामो अन्तरालपछि फेरि नयाँ गीत लिएर गायन क्षेत्रमा फर्किएका छन्। अबुधाबीमा वित्तीय क्षेत्रमा कार्यरत डा. प्रकाश हाल प्रभु बैंकका यूएई प्रमुख प्रतिनिधि पनि हुन्। जागिर, अध्ययन र ज्योतिष अभ्यासले संगीतलाई समय दिन नभ्याएका डा. प्रकाश साढे दुई दशकपछि फेरि नयाँ गीत लिएर गीतसंगीत बजारमा फर्किएका हुन्।
उनले पुनः गायनलाई निरन्तरता दिँदै संगीत यात्रामा फर्किएको बताएका छन्। ‘दर्शक र स्रोताको मायालाई भुल्न सकिँदैन रहेछ,’ उनले सुनाउँदै भने, ‘पत्रकारिता, राजनीति, साहित्य जस्तै संगीत क्षेत्र पनि एक नसा नै हुँदो रहेछ।’ २५ वर्षको यात्रामा संगीत कहिले नजिक, कहिले टाढा हुँदै उनले जीवनका धेरै बिन्दु काटे। जागिरे जीवन र ज्योतिष शास्त्रको अध्ययनले संगीतलाई केही समय ‘पज’ गराए। तर पज सधैँ फुल स्टप हुँदैन। संगीत त अन्ततः कलाकारको मुटुको पुरानो ‘रायम’ नै हो, जुन कहिले नासिने वा हराउने हुँदैन।

उनले रमाइलो जनराको गीत ‘बुढा बुढी मिलेको’ लाई शुक्रबार बिहान ११ बजेर २६ मिनेटको शुभ साइत छानेर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत् औपचारिकरूपमा सार्वजनिक गरेका हुन्। खाडीमा रहेर काम गरिरहँदा विदेशमा काम गर्न गएकाहरू कैयनको घरबार बिग्रेको देखेका, कैयनलाई मिलाएका उनले बुढाबुढी मिलेको गीत आफ्नै शब्दमा लिएर आएका हुन्। उनले यस गीतलाई आफ्नो पुरानो र नयाँ पुस्ता जोड्ने नयाँ सुरुवातका रूपमा व्याख्या गरेका छन्।
अढाई दशकपछि आफ्नो फेरिएको परिचयमा पुनः गायन कलालाई डा. प्रकाशले थपेका छन्। पहिलो गीत अझै पनि जनमानसमा स्मरणीय छ। त्यसलाई बिर्सन नदिन उनले वित्तीय जागिर, विदेश बसाइँ, अध्ययन र ज्योतिष विद्यामा विद्यावारिधीको लामो यात्रासँगै अढाई दशकमा केही वर्ष त संगीतबाट टाढा नै भए। तर संगीतप्रति रहेको पुरानो मोह र कलाकारको मूल पहिचानले उनलाई फेरि सिर्जनाको संसारमा फर्काएको हो।
२५ वर्षअघिको गीतले लोकप्रियता दिलाएको कलाकार अहिलेको समयको सांगीतिक संसार भने पूरै बदलिएको अवस्था छ। पुराना क्यासेट र एफएमको जमाना सामाजिक सञ्जालको छोटा भिडियो र टिकटकको उपस्थितिले विस्थापित भइसकेको छ। यही परिवर्तनलाई लक्ष्य बनाउँदै डा. प्रकाशले यसपटक टिकटकमा सक्रिय दाम्पत्य जोडीलाई केन्द्रीय हिस्सा बनाएका छन्।
हास्य रस मिसिएको यो गीतमा दाम्पत्यको सानो नोकझोक, रमाइलो र परस्परको चुहलपनलाई मनोरञ्जनको लयमा उतारिएको छ। संगीत दीपराज नेयोङहाङले गरेका भए पनि गायक आफैँले लेखेको शब्द हुनाले सँगै बसेर संगीतमा पनि दीपराजलाई सुझाएका थिए।
अबुधाबीमा बसेर संगीतकर्म गरिरहेका नेयोङहाङ, सुरज श्रेष्ठको एरेञ्ज, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादनमार्फत बनेको भिडियो सञ्चारकर्मी सुब्रत आचार्यको निर्देशनमा तयार भएको हो। भिडियोमा मोडल साक्षी लम्साल र कमल सिंहसँगै गायक डा. प्रकाश स्वयं, सानु सत्याल, कुमार लम्साल र सुधिर सापकोटाले अभिनय हेर्न पाइन्छ।
गीत सार्वजनिक हुनुअघि नै यो गीत खाडी मुलुकमा रहेका नेपाली समुदायबीच लोकप्रिय भइसकेको छ। दुई साताअघि अबुधाबीबाट सामाजिक सञ्जालमार्फत यही गीत बजाउँदै साथीहरूसँग रमाइरहेको दृश्यहरु हेर्न पाइन्छ। साथै अबुधाबीमा रहेका अन्यले पनि श्रीमान-श्रीमती दुई जना नै अभिनय गर्दै टिकटक र सर्ट भिडियो राख्न मिल्ने सञ्जालमा भाइरल भइरहेका छन्।
नेपाली जनसम्पर्क समिति यूएईका सभापति भुवनीप्रसाद तिमिल्सिना र श्रीमती गौरी तिमिल्सिनाले दुबईको मिराकल गार्डेनमा यही गीतमा अभिनय गर्दै भिडियो पोस्ट गरेपछि गीत औपचारिकरूपमा सार्वजनिक हुनुअगावै सामाजिक सञ्जालमा पनि विशेष गरेर खाडी क्षेत्रमा ‘हिट’ नै भएको यूएईमा रहेर पत्रकारिता गरिरहेका उमाकान्त पाण्डेले जानकारी दिए।
हुन त कोरोना महामारी अघिसम्म प्रकाशका गीतका एलबम आइरहन्थे। तर पहिलो गीत रेकर्ड गरेको २५ वर्षपछि आएको ‘बुढा बुढी मिलेको’ मार्फत प्रकाशले पुरानो लोकप्रियताको स्मृति र अहिलेको डिजिटल पुस्ताको मनोरञ्जन शैलीबीचको दूरीलाई पुल बनाउँदै आफ्नै संगीत यात्राको अर्को चरण आरम्भ गरेका छन्। उनको यो केवल अर्को नयाँ गीत मात्र होइन- यो एक कलाकारले आफ्नो मूल पहिचानतिर फर्किएको संकेत हो। उमेरले हेर्ने कुरा बदलिन सक्छ, देश-महादेश बदलिन सक्छ, तर गीतसँग जोडिएको भाव अन्ततः कलाकारलाई फेरि संगीतकै चुलोमा ल्याइदिन्छ।
हुन त यसअघि नै उनले पहिलो एल्बम ‘थ्री मच’ बाट यात्रा सुरु गरेका हुन्। डा. प्रकाशले अहिलेसम्म ६ वटा एल्बम सार्वजनिक गरिसकेका छन्। ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ का अतिरिक्त उनका कसैलाई नभन्नु ल, कानेखुसी, डक्टर साब भिटामिन लेख्दिनु, घाँस काट्ने खुर्केर, हास्ने गीत हाहाहा, सलाम वालेकुम, भुँडे, भोलि छुट्टी लगायतका गीतहरू निकै चर्चित छन्।



