जसपा नेपाल छोडेका सबैलाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

हिमाल प्रेस २१ कार्तिक २०८२ १६:३७
18
SHARES
जसपा नेपाल छोडेका सबैलाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन्।

उनले विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई अप्ठ्यारो नमानी पुरानै घरमा फर्किन आह्वान गरेका हुन्। पुरानो घरमा फर्किनेहरूको स्वागतका लागि जसपा नेपालको ढोका खुला रहेको अध्यक्ष यादवले बताए।

ललितपुरको इमाडोलमा सम्पन्न केन्द्रीय समिति बैठकले पनि विगतका दिनमा संगठन छाडेका नेता कार्यकर्ताहरूलाई पार्टीमा फर्किन आह्वान गर्दै आउनेलाई स्वागत गर्ने निर्णय गरेको छ।

‘पार्टी स्थापनाकालदेखि विगतमा जे जस्तो कारणले असन्तुष्टि भएर पार्टी छाडे पनि उहाँहरू सबैलाई जसपा नेपालमा स्वागत छ, आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दछु,’ अध्यक्ष यादवले भने,‘जसपा नेपाल हामी सबैको साझा संगठन भएकोले जुनै कारणले पार्टी परित्याग गरे पनि पुनः फर्किन कसैले दुःख, धाक, संकोच वा अप्ठ्यारो मान्नु पर्दैन।’

पार्टी परित्याग गरेको नेता कार्यकर्ताहरू सम्पर्कमा आउन अपिल गर्दै उनले दक्षता, क्षमता, भूमिका र योग्यताअनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिइने बताए।

मुलुकमा विकसित परिदृष्यलाई मध्यनजर गरी पार्टीलाई थप संगठित, समावेशी र वृहत् बनाउने उद्देश्यले पार्टी छाडेकाहरूलाई पुरानै घर फर्काउने अभियान जसपा नेपालले प्राथमिकताका साथ सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०८२ १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast