काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूसँगको एकता घोषणामा सहभागी भएका छन्। यसअघि खनालले पार्टी एकताको विरोध गरेका थिए। उनले भनेका थिए,‘माओवादीसँग एकता गरी पार्टीलाई विसर्जन गर्न खोजियो।’
खनालले मंगलबार साँझ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए। ओली-खनाल भेटवार्तालाई खनाल एमालेमै फर्किन लागेको राजनीतिक वृत्तमा चर्चा थियो। तर खनाल बुधबार भृकुटीमण्डमा एकतापछिको नेपाली कम्युनिस्ट पार्टी प्रस्तावित चुनाव चिह्व ताराअंकित ‘ब्याज’ लगाएर बसेका छन्।
सो कार्यक्रममा खनालले भने,‘देशका सबै वामपन्थी साथीहरू साझा आधारमा एकताबद्ध बनौं। अरू कुनै विकल्प छैन। यदि देश, जनता, राष्ट्र, परिवर्तन, रूपान्तरण, समाजवाद आदिको निम्ति काम गर्ने हो भने।’
खनालले माओवादीसँग मात्रभन्दा पनि सम्पूर्ण वामपन्थीबीचमा कार्यगत एकता अहिलेको आवश्यकता भन्दै आएका थिए।
अर्कोतर्फ, एकीकृत समाजवादीकै रामकुमारी झाँक्री पक्ष एमालेमै फर्किने तयारीमा छ। घनश्याम भुसाल पक्ष भने एकता वा एमालेमै फर्किने दोधारमा छ।



