काठमाडौँ- नेकपा माओवादी केन्द्रका जनार्दन पक्षीय नेता राम कार्कीले भ्रष्टाचारका मुद्दा खेपेका नेताहरू एकताको स्वाङ गरिरहेको बताएका छन्।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयाेजक रहेको नेकपा माओवादी केन्द्रसहित आठ दलबीच हुने भनिएको एकताप्रति असन्तुष्टि जनाउँदै नेता शर्माले मंगलबार ललितपुरमा गरेको पत्रकार सम्मेलनमा सहभागी भएका नेता कार्कीले यस्ताे बताएका हुन्। उनले अब राजनीतिक पार्टीमा शुद्धीकरण अभियान सुरु हुने पनि बताए।
‘भ्रष्टाचारका मुद्दा लागेका मान्छेहरू टाउकामा कल्की झुन्ड्याएर ठूला पदमा पुगेर एकताको स्वाङ गर्दैछन्,’ कार्कीले भने, ‘हामी भने यस्तो बर्चस्ववादी संरचना दोहोर्याउने होइनौं। केपी ओलीको बर्चस्व भएको एमाले वा प्रचण्डको बर्चस्व भएको माओवादीजस्तै जनार्दन, राम कार्की वा अञ्जनाको बर्चस्व हुने पार्टी खोल्न लागेका होइनौं।’
उनले कम्युनिस्ट आन्दोलनमा देखिएका गल्तीहरू नदोहोर्याउने बताए। उनले भने, ‘हामी त्यो गल्ती गर्दैनौं, बरु एकीकृत अभियान सञ्चालन गरेर कञ्चन बन्नेछौं।’
कार्कीले हालको राजनीतिक परिदृश्यलाई जेनजी विद्रोहपछि पार्टीहरूको विघटनको परिणामका रूपमा व्याख्या गरे।



